३० असार, काठमाडौँ । पछिल्लो एक हप्ता नेपाली समाजका लागि निकै त्रासदीपूर्ण र सोचमग्न बनाउने खालको रह्यो ।
जीवनका विविध छटपटी र निराशाका बीच आत्मदाहको आत्मघाती बाटो रोजेका तीन जना नागरिकले अन्ततः अस्पतालको शय्यामा छटपटाउँदै ज्यान गुमाएका छन् ।काठमाडौँको वीर अस्पतालमा दुई जना र कीर्तिपुरस्थित बर्न अस्पतालमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा काठमाडौँ बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डल (यादव) रहेका छन् । तीनवटै घटनाले समाजको मानसिक स्वास्थ्य र राज्यको नागरिकप्रतिको दायित्वमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।
घरको भान्सादेखि राहदानी विभागसम्मस् कसरी भए घटना ?
आत्मदाहका यी तीनवटै घटनाका प्रकृति र स्थान फरक(फरक छन् । काठमाडौँको बुद्धनगर बस्ने ४५ वर्षीय आश्विन राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेका थिए ।शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलिसकेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरी वीर अस्पतालको सघन कक्ष (आईसीयू) मा भर्ना गरेको भए तापनि गत शनिबार उनले अन्तिम सास फेरे ।
यस्तै, मुगुका गणेश नेपालीले गत बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग जस्तो व्यस्त सार्वजनिक स्थलमा आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे ।उनलाई पनि तत्काल वीर अस्पताल पुर्याइए पनि बचाउन सकिएन ।
यसैगरी, सर्लाहीका विवेक मण्डलको कथा झन् कारुणिक छ । शुक्रबार गम्भीर रूपमा जलेका उनलाई तत्काल उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।सोही दिन साँझ साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएका मण्डलको गएराति करिब दुई बजे उपचारकै क्रममा निधन भएको अस्पतालका निर्देशक डा। किरण नकर्मीले पुष्टि गरे ।
जलनका बिरामीको भयावह तथ्याङ्कस् ३७ हजारभन्दा बढी प्रभावित
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा (एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा) को पछिल्लो तथ्याङ्कले नेपालमा जलनको समस्या कति भयावह छ भन्ने कुरा उजागर गर्छ ।
विवरण अनुसार हाल देशभरका विभिन्न स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामीहरू फेला परेका छन् । यो सङ्ख्याले नेपालमा भवितव्य, दुर्घटना वा मानसिक तनावका कारण आगोको चपेटामा पर्ने नागरिकहरूको सङ्ख्या निकै ठुलो रहेको देखाउँछ ।
उपचार संयन्त्रमा खडेरी: विशेषज्ञ चिकित्सकको चरम अभाव
पीडितहरूको सङ्ख्या हजारौँमा भइरहँदा देशको स्वास्थ्य प्रणाली भने लाचार र अपुग देखिएको छ ।भएका सीमित अस्पतालहरूमा समेत जलनको उपचार गर्ने विशेषज्ञ चिकित्सकहरूको चरम अभाव छ । जलनको जटिल उपचारका लागि प्लास्टिक र रिकन्स्ट्रक्टिभ सर्जन, जलन विशेषज्ञ, जनरल सर्जन र फिजियोथेरापिस्ट जस्ता दक्ष जनशक्तिको आवश्यकता पर्दछ ।
तर, नेपालमा जलन उपचारको मुख्य मेरुदण्ड मानिने’प्लास्टिक सर्जरी’विधामा दर्ता भएका विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या निकै चिन्ताजनक र न्यून छ ।चिकित्सक र प्रविधिको यही अभावका कारण समयमै उचित उपचार नपाएर धेरैले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।



















