Logo

८ साउन, जनकपुर/ताप्लेजुङ । महोत्तरी र ताप्लेजुङमा घटेका दुई छुट्टाछुट्टै दुर्घटनात्मक घटनामा परी दुई जनाको अकालमा ज्यान गएको छ । महोत्तरीमा खाना खाँदै गर्दा अचानक बेहोस भएका एक युवकको मृत्यु भएको छ भने ताप्लेजुङमा घरको फलैँचाबाट लडेर अर्का एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–३, मलिवारास्थित संगम वाइन होटलमा कार्यरत एक कर्मचारीको खाना खाँदाखाँदै मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २६ वर्षीय सञ्जय यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गएराति करिब ११ बजे होटलमा खाना खाइरहेका यादव अचानक बेहोस भई ढलेका थिए। लगत्तै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको भए पनि चिकित्सकले पुर्‍याउनासाथ मृत घोषणा गरेका थिए ।

घटनाको स्पष्ट कारण खुल्न नसकेकाले अनुसन्धानका लागि प्रहरीले होटल धनी विमलकुमार चौधरीलाई नियन्त्रणमा लिएको छ । शवलाई परीक्षणका लागि अस्पतालमै राखिएको र घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच, ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१, डाँडागाउँमा फलैँचाबाट लडेर ३६ वर्षीय कुमार गुरुङको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आफ्नै घरमा रहेको सिमेन्टको फलैँचामा सुतिरहेका बेला हिजो साँझ साढे ६ बजे गुरुङ अचानक तल खसेका थिए। फलैँचाबाट लडेर गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार