८ साउन,काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ लाई नारायणी नदीमाथिबाट जोड्ने सुस्ता झोलुङ्गे पुल सञ्चालनमा आएको एक वर्ष नपुग्दै जीर्ण बन्न थालेको छ।
२०८१ साल असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरी सञ्चालनमा ल्याएको पुलमा सुरक्षाका लागि जडान गरिएका जाली च्यातिनुका साथै विभिन्न स्थानका नटबोल्ट खुकुलो भएको पाइएको छ। छोटो समयमै पुलको संरचनामा देखिएको क्षतिले यसको गुणस्तर र नियमित मर्मतसम्भारबारे प्रश्न उठाएको छ।
करिब २० करोड ९३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो पुल नेपालको सबैभन्दा लामो तथा धेरै स्पान भएको झोलुङ्गे पुलका रूपमा परिचित छ। निर्माण सम्पन्न गर्न झण्डै नौ वर्ष लागेको थियो।
हाल पुलबाट सुस्ता जाने–आउने दुईपांग्रे सवारीसाधन र पैदलयात्री आवतजावत गर्दै आएका छन्। करिब ३ सय घरधुरी र ३ हजार १ सय जनसंख्या रहेको सुस्तामा पुल निर्माणअघि स्थानीयले नारायणी नदी डुङ्गाबाट तर्नुपर्ने वा भारतीय भूमिबाट घुमेर आउजाउ गर्नुपर्ने बाध्यता थियो।
पुल सञ्चालनमा आएपछि आफ्नै नेपाली भूमिबाट सुरक्षित र सहज आवतजावत सम्भव भएको छ। पुलसँगै सुस्ता बस्तीमा विद्युत् विस्तारसमेत गरिएको छ। पछिल्लो समय उत्तर प्रदेश र बिहारबाट पनि ठूलो संख्यामा पर्यटक तथा युवायुवती पुलमा घुम्न र तस्बिर खिच्न आउने गरेका छन्।




















