८ साउन, काठमाडौं । ललितपुरको इमाडोलस्थित एक गल्लीमा पैदल हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गर्दै गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका सरकारी अधिकृत धरौटीमा रिहा भएका छन् ।
बैतडी स्थायी घर भई शिक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा कार्यरत शिक्षा अधिकृत सुरेन्द्र भट्ट जिल्ला प्रशासन कार्यालय ललितपुरको आदेश अनुसार २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
गत असार २१ गते साँझ ६ बजेतिर इमाडोलको एकान्त गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई देखेर भट्टले कपडा खोलेर अश्लील व्यवहार देखाएको पीडित युवतीले आरोप लगाएकी थिइन् । घटनालगत्तै ती युवतीले हिम्मत जुटाएर आफ्नो मोबाइल फोनबाट भट्टको भिडियो खिच्दै पछ्याएकी थिइन् । पछि उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा पोस्ट भएपछि घटना सार्वजनिक भएको थियो र प्रहरीले असार २२ गते भट्टलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेपछि प्रहरी वृत्त सातदोबाटोले भट्टमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार ‘सार्वजनिक स्थानमा यौनाङ्ग प्रदर्शन गर्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाएको थियो। यो कसुर पुष्टि भएमा ६ महिनासम्म कैद वा सजाय हुने कानुनी व्यवस्था छ ।
अनुसन्धान अधिकृत र सरकारी वकिलसमक्ष दिएको बयानमा भने अभियुक्त भट्टले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएको प्रहरीले जनाएको छ ।




















