Logo

९ साउन,काठमाडौं । धनकुटामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले साँगुरीगढी गाउँपालिका–२ मान्दावा टोलबाट ७१ किलो ३५ ग्राम गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शुक्रबार राति इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को २ ह १२५ नम्बरको अटो (टेम्पो) रोकेर जाँच गर्दा पाँच वटा प्लास्टिकको बोरामा प्याक गरिएको गाँजा फेला पारेको थियो।

गाँजासहित अटो चालक साँगुरीगढी गाउँपालिका–२ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बू र उनलाई पछ्याउँदै सुरक्षा दिइरहेको प्र १–०४–००१ प ४७९१ नम्बरको पल्सर मोटरसाइकल चालक साँगुरीगढी गाउँपालिका–३ मादेनका ३२ वर्षीय मदन याखालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको अटो, पल्सर मोटरसाइकल, शिखर लिम्बूको सिमसहितको रेड्मी मोबाइल र मदन याखाको किप्याड मोबाइलसमेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


सम्बन्धित समाचार