Logo

९ साउन,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले देशमा देखापरेको निरंकुश प्रवृत्तिविरुद्ध पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन्।

शनिबार पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको कम्युनिस्ट आन्दोलन अहिले कठिन मोडमा पुगेको उल्लेख गर्दै आन्दोलनलाई पुनः एकताबद्ध र पुनर्जीवित गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रचण्डले पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता नेताहरूको योगदान स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई पुनः सशक्त बनाउने र देशको नेतृत्व गर्ने संकल्प गर्नुपर्ने समय आएको बताए।

उनले राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भइरहेको दाबी गर्दै त्यसको सामना गर्न कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको धारणा राखे। साथै, देशमा निरंकुश प्रवृत्ति बढ्दै गएको जिकिर गर्दै त्यसविरुद्ध फेरि एकपटक संगठित संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रचण्डले श्रद्धाञ्जलि कार्यक्रमलाई केवल स्मरणमा सीमित नराखी वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्ने अठोटका रूपमा लिनुपर्ने उल्लेख गरे। उनका अनुसार राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको पुनर्जीवन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुन आवश्यक छ।


सम्बन्धित समाचार