Logo

९ साउन, वीरगञ्ज। चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला अदालतले २०८१ चैत २२ गते चोरी तथा डाँका सम्बन्धी कसूरमा दोषी ठहर गर्दै पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेका वीरगञ्ज महानगरपालिका–३० निवासी २८ वर्षीय आकाश यादव फरार रहेका थिए।

विशेष सूचनाका आधारमा फैसला कार्यान्वयन टोलीले शुक्रबार (२०८३ साउन ९ गते) दिउँसो करिब १२:४० बजे वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी क्षेत्रबाट यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका यादवमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। उक्त जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रेस विज्ञप्तिमार्फत दिएका हुन्।


सम्बन्धित समाचार