साउन, १०, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतीय पर्यटकको बाहुल्य सबैभन्दा बढी देखिएको छ, जहाँ कुल आगमनको करिब २५।७६ प्रतिशत अर्थात् ३ लाख ११ हजार ५३१ जना भारतबाटै आएका हुन् । भारतपछि १ लाख ११ हजार ३२५ पर्यटकसहित संयुक्त राज्य अमेरिका दोस्रो र १ लाख ९ हजार ८९२ पर्यटकसहित चीन तेस्रो प्रमुख स्रोत बजार बनेका छन् ।
महिनागत हिसाबले साउनदेखि असारसम्मको अवधिमा सबैभन्दा बढी कात्तिक महिनामा १ लाख २४ हजार ८२९ र त्यसपछि चैतमा १ लाख १९ हजार ३९० विदेशी पर्यटक नेपाल आएका थिए ।
पर्यटन प्रवर्द्धनका लागि बोर्डले भारतका विभिन्न प्रमुख सहरहरूमा १२ वटाभन्दा बढी र समग्र अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी कार्यक्रमहरू सञ्चालन गरेको थियो । विशेष गरी सीमावर्ती तराई क्षेत्रमा आयोजित पर्यटन मार्ट र क्रस–बोर्डर कार्यक्रमका कारण स्थल मार्ग हुँदै आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरका अनुसार नेपालको पर्यटन उद्योग पुनरुत्थानको चरण पार गर्दै अब दिगो वृद्धितर्फ अघि बढेको छ । आगामी दिनमा चीन, अमेरिका र अस्ट्रेलियाजस्ता उच्च सम्भावना भएका बजारमा सेल्स मिसन विस्तार गर्ने र सरकारले घोषणा गरेको ‘आरोग्य पर्यटन वर्ष २०२७’ लाई लक्षित गरी पर्यटकीय गतिविधि तीव्र बनाइने बोर्डले जनाएको छ ।




















