एमाले–नेकपा सहकार्यपछि लुम्बिनीमा तरङ्ग, कांग्रेसका पाँचै मन्त्रीले बुझाए दलको नेतालाई सामूहिक राजीनामा
१० साउन, काठमाडौं । केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच नयाँ सत्ता समीकरणको सहमति बनेसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।
कांग्रेसबाट मन्त्री बनेका पाँचै जना अधिकारीहरूले आइतबार आफ्नै संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले नयाँ राजनीतिक घटनाक्रमपछि सरकारमा बसिरहनु उपयुक्त नभएकाले दलको नेतालाई सामूहिक राजीनामा बुझाइएको पुष्टि गरेका छन् ।
सरकारमा कांग्रेसका तर्फबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए ।
संसदीय दलमा मन्त्रीहरूको राजीनामा सङ्कलन भएसँगै अब कांग्रेसले मुख्यमन्त्री चेतनारायण आचार्यलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाउने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने तयारी थालेको छ ।
यसअघि एमाले र कांग्रेसको गठबन्धनअन्तर्गत एमालेका चेतनारायण आचार्यको नेतृत्वमा लुम्बिनी सरकार सञ्चालन भइरहेको थियो । तर, एमाले र नेकपाबिच नयाँ सहकार्यको समझदारी बनेपछि लुम्बिनीको राजनीतिक समीकरण बदलिएको छ । कांग्रेस मन्त्रीहरूको बर्हिगमन र समर्थन फिर्ताको तयारीसँगै एमाले–नेकपा गठबन्धन अघि बढ्ने र कांग्रेस प्रतिपक्षको भूमिकामा पुग्ने निश्चित भएको छ ।




















