Logo

१० साउन, काठमाडौं । डिम्याट (हितग्राही) खाता प्रयोगकर्ताहरूले आगामी साउन १५ गतेभित्र अनिवार्य रूपमा वार्षिक नवीकरण शुल्क नबुझाएमा साउन १६ गतेदेखि खाता रोक्का हुने भएको छ ।

सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले सार्वजनिक सूचना जारी गर्दै साउन १५ गतेसम्मको अन्तिम म्याद दिएको हो । सामान्यतया हरेक वर्ष असार मसान्तभित्रै बुझाइसक्नुपर्ने यस्तो शुल्क यस वर्ष साउन मध्यसम्मका लागि थप गरिएको हो । तोकिएको समयमा शुल्क नबुझाएर खाता रोक्का भएमा दोस्रो बजारमा सेयर खरिद(बिक्री तथा अन्य कारोबार गर्न पाइने छैन ।

सीडीएससीका अनुसार डिम्याट खाता प्रयोग गरेबापत वार्षिक १०० रुपैयाँ र मेरो सेयरका लागि ५० रुपैयाँ नवीकरण शुल्क तोकिएको छ । हाल देशभर डिम्याट खाताको सङ्ख्या ८० लाख ९ हजारभन्दा बढी पुगेको छ भने मेरो सेयरमा ५१ लाख ४८ हजारभन्दा बढी सक्रिय खाता रहेका छन् । दोस्रो बजारमा बिक्री भएको सेयर हस्तान्तरण गर्न तथा प्राथमिक बजारमा आईपीओ, एफपीओ र हकप्रद सेयर भर्नका लागि मेरो सेयर अनिवार्य मानिन्छ ।

घरमै बसेर यसरी गर्नुहोस् भुक्तानी

डिम्याट र मेरो सेयरको नवीकरणका लागि सेयर धनीहरू क्यापिटल वा बैंक धाइरहनु पर्दैन, घरमै बसेर डिजिटल वालेटमार्फत रकम भुक्तानी गर्न सकिन्छ। यसका लागि सर्वप्रथम मेरो सेयरको एप वा वेबसाइटमा लगइन गरी दायाँ कुनाको आफ्नो नामावली/प्रोफाइलमा रहेको ‘Account Information’ भित्रको ‘Renew Account’ मा जानुपर्छ। त्यसपछि इसेवा, खल्ती, प्रभु पे, आईएमई पे वा कनेक्ट आईपीएसमध्ये एक भुक्तानी माध्यम छनोट गरी ‘Mero Share & Demat’ रोजेर आफ्नो वालेट विवरणमार्फत सजिलै भुक्तानी (Proceed/Submit) गर्न सकिनेछ ।


सम्बन्धित समाचार