Logo

११ साउन,वीरगञ्ज ।नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा आकस्मिक कक्षमा गरिएको तोडफोडको विरोधमा पोखरिया अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आइतबार आन्दोलनमा उत्रिएका छन्। आन्दोलनस्वरूप अस्पतालको ओपीडी (बहिरङ्ग) सेवा बन्द गरिएको छ भने आकस्मिक (इमरजेन्सी) सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।

आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले घटनाको निष्पक्ष छानबिन गरी संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले स्वास्थ्य संस्थामा हुने हिंसात्मक गतिविधि तत्काल रोक्न, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा अस्पताललाई सुरक्षित कार्यस्थलका रूपमा कायम गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।

प्रदर्शनमा सहभागी चिकित्सकहरूले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणले सेवा प्रवाह प्रभावित हुने भएकाले यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कानुनी व्यवस्था र सुरक्षा संयन्त्र आवश्यक रहेको बताएका छन्।

आन्दोलनमा डा. आनन्द रौनियार, डा. अजय गुप्ता, डा. मृगेन्द्र सिंह यादव, डा. ओमप्रकाश यादव, डा. अभिषेक चौधरी, डा. सुरेश प्रसाद यादव तथा फार्मेसी विभागका राकेश यादव र निलम साहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

चिकित्सकहरूले दोषीलाई कानुनी दायरामा ल्याई स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।


सम्बन्धित समाचार