११ साउन, काठमाडौं । काठमाडौँमा आगामी भदौ ७ देखि १३ गते (अगस्ट २३–२९) सम्म आयोजना हुन लागेको १७ औँ ‘इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज’ (आईएटीएस) को अन्तर्राष्ट्रिय सम्मेलन भू–राजनीतिक चासोको केन्द्र बनेको छ ।
चीनको कडा कूटनीतिक दबाबपछि धर्मशालास्थित निर्वासित तिब्बती सरकार—केन्द्रीय तिब्बती प्रशासन ९सीटीए० ले सम्मेलनमा आफ्ना प्रतिनिधि औपचारिक रूपमा नपठाउने निर्णय गरेको छ ।
के थियो प्रारम्भिक योजना ?
सुरुवाती तयारी अनुसार सीटीएको थिङ्क ट्याङ्क ‘तिब्बत नीति संस्थान’ (टीपीआई) का निर्देशक दावा छिरिङको नेतृत्वमा ५ जना शोधकर्ता तथा विज्ञहरूको टोली काठमाडौँ आउने तय भएको थियो । उक्त टोलीमा डा. छेवाङ दोर्जी, डा.छिरिङ डोल्मा, डा.कर्मा तेन्जिङ दलिया र डा.रिगमोन छिरिङ सामदुक समावेश थिए ।
काठमाडौँ विश्वविद्यालय अन्तर्गतको ‘हिमालयन सेन्टर फर एसियन स्टडिज’ (हि–कास) र ‘सेन्टर फर बुद्धिस्ट स्टडिज’ को स्थानीय सह(आयोजनामा हुन लागेको यो प्राज्ञिक कार्यक्रममा निर्वासित तिब्बती प्रतिनिधिहरूको सहभागितालाई विशेष चासोका साथ हेरिएको थियो ।
चिनियाँ चासो र नेपालमा परेको कूटनीतिक प्रभाव
नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो उच्चस्तरीय सम्मेलनप्रति नेपालस्थित चिनियाँ दूतावासले सुरुदेखि नै गम्भीर चासो व्यक्त गरेको थियो । चिनियाँ राजदूत चाङ माओमिङले साउन ५ गते परराष्ट्रसचिव अमृतबहादुर राईसँग भेट गरी निर्वासित तिब्बतीहरूको उपस्थितिले सम्मेलनमा चीनविरोधी गतिविधि वा अभिव्यक्ति उत्पन्न हुन सक्ने आशङ्का व्यक्त गरेका थिए ।
चीनले तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा दलाई लामा वा निर्वासित प्रशासनको राजनीतिक उपस्थितिलाई आफ्नो सार्वभौमिकता र अखण्डताविरुद्धको कदमका रूपमा लिँदै आएको छ । ‘एक चीन नीति’ प्रति प्रतिबद्ध नेपाल सरकारलाई थप कूटनीतिक अप्ठ्यारो नपरोस् र कार्यक्रम निर्बाध सम्पन्न होस् भन्ने हेतुले सीटीएले साउन ६ गते धर्मशालामा बैठक बसी औपचारिक सहभागिता रद्द गर्ने निर्णय लिएको सुरक्षा स्रोतले जनाएको छ ।
व्यक्तिगत सहभागिता र ३९ देशको उपस्थिति
नेपालको वैदेशिक नीति र परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै सीटीएले संस्थागत सहभागिता नजनाउने भए पनि नाम दर्ता गरिसकेका शोधकर्ता तथा विज्ञहरूले व्यक्तिगत हैसियतमा भने भाग लिन सक्ने बाटो खुला राखेको छ ।
यस प्राज्ञिक सम्मेलनमा ३९ देशका ७ सयभन्दा बढी सहभागीहरू काठमाडौँ आउँदैछन् । रोचक कुरा के छ भने, चीनको चासो र दबाबका बाबजुद मुख्यभूमि चीनबाटै करिब १०० जना अनुसन्धाताहरू सहभागी हुँदैछन्। सम्मेलनमा सबैभन्दा बढी सहभागिता अमेरिकाबाट (करिब १५० जना) रहनेछ ।
हार्वर्ड, कोलम्बिया, अक्सफोर्ड, क्याम्ब्रिजका साथै चीनको पेकिङ, ल्हासा र सिचुवान विश्वविद्यालयका विद्वान्हरू सहभागी हुने यो सम्मेलनको उद्घाटन धुलिखेलमा र मुख्य सत्रहरू काठमाडौँको सोल्टी होटलमा सञ्चालन हुनेछन् । आयोजकका अनुसार सम्पूर्ण कार्यक्रम नेपाल सरकार र सुरक्षा निकायहरूसँगको पूर्ण समन्वयमा सञ्चालन भइरहेको छ ।




















