Logo

११ साउन,वीरगञ्ज । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ।

प्रशासनका अनुसार प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै विभिन्न स्थानमा आगजनी तथा तोडफोड गरेपछि हतियारसहित नेपाली सेनाको टोली परिचालन गरिएको हो। सेनाको उपस्थितिपछि कप्तानगञ्जको अवस्था क्रमशः नियन्त्रणमा आउन थालेको जनाइएको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले शान्ति–सुरक्षा कायम गर्दै अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताएका छन्।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ निवासी २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

यसै घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। तर कर्फ्यु उल्लंघन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। प्रशासनले नागरिकलाई कर्फ्यु आदेशको पालना गर्न तथा शान्ति कायम राख्न आग्रह गरेको छ।


सम्बन्धित समाचार