Logo

११ साउन,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा शंकास्पद अवस्थामा मृत फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्काको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सोमबार वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ।

मृतक खड्काको माइती पक्ष तथा विभिन्न सरोकारवालाको सहभागितामा भएको प्रदर्शनमा घटनाको सत्यतथ्य सार्वजनिक गर्न, निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको थियो।

प्रदर्शनकारीहरूले “लक्ष्मी खड्कालाई न्याय दे”, “हत्यारालाई कारबाही गर”, “तस्बिरहरू आफैं बोल्छन्”, “तस्बिरमाथि छानबिन होस्”, “घटनाको विवरण सार्वजनिक गर” र “निष्पक्ष जाँचबुझ समिति गठन गर” लगायतका ११ बुँदे माग अघि सारेका थिए।

वीरगञ्ज बसपार्कबाट सुरु भएको विरोध र्‍याली घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा सहभागीहरूले घटनाको निष्पक्ष अनुसन्धान नभएसम्म न्यायका लागि आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

युवा अभियन्ता धिरसिंह घिमिरेले प्रदर्शनको उद्देश्य घटनाको वास्तविकता सार्वजनिक गराउनु र पीडित परिवारलाई न्याय दिलाउनु रहेको बताए।

मृतक लक्ष्मी खड्काका आफन्तले घटनामा उनका श्रीमान् सुधीर सिलवालको परिवारको संलग्नता रहेको आरोप लगाएका छन्। तर उक्त आरोपको आधिकारिक पुष्टि भने अनुसन्धानबाट हुन बाँकी छ।

दुई सन्तानकी आमा खड्का आफ्नै घर नजिक रहेको गोठमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाको प्रकृति शंकास्पद रहेको भन्दै ठोरी गाउँपालिका–३ स्थित माइती पक्षले निष्पक्ष छानबिनको माग गर्दै दबाबमूलक प्रदर्शन गरेको हो।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्ने भन्दै प्रदर्शनकारीहरूले सम्बन्धित निकायसँग निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन्।


सम्बन्धित समाचार