१२ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रचार विभाग प्रमुख तथा प्रवक्ता प्रकाश ज्वालाले नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरेका छन् ।
गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रदेश सत्ता भागबन्डाबारे सहमति भएपछि दुवै दलभित्र असन्तुष्टि चुलिएको चर्चा भइरहेका बेला प्रवक्ता ज्वालाको यस्तो भनाइ आएको हो । सहसंयोजक माधवकुमार नेपालले जनाएको असन्तुष्टिलाई साम्य पार्न सोमबार संयोजक प्रचण्ड आफैँ कोटेश्वर पुगेर छलफल गरेका थिए ।
प्रवक्ता ज्वालाका अनुसार दुई शीर्ष नेताबीच भएको संवादमा तीन बुँदे सहमति कार्यान्वयन, प्रदेश सत्ता समीकरण र समग्र राष्ट्रिय राजनीतिबारे गम्भीर समीक्षा भएको छ । एमालेसँगको सहमतिलाई प्रभावकारी रूपमा अघि बढाउन दुवै दलबीच साझा संयन्त्र बनाएर काम गर्ने विषयमा छलफल भएको उनले बताए ।
यसका साथै, अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्दै राष्ट्रिय मुद्दाहरूमा एकसाथ अघि बढ्ने र पार्टी एकता तथा समायोजनका बाँकी कामहरूलाई चाँडै टुंगोमा पुर्याउने सहमति भएको ज्वालाको भनाइ छ ।




















