Logo

१२ असार, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मङ्गलबार निधन भएको हो । श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि साउन १३ गते बुधबार बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। दिवङ्गत श्रेष्ठका तीन छोरा र छ छोरी छन् ।

२०१७ सालदेखि विद्यार्थी राजनीतिबाट प्रजातान्त्रिक आन्दोलनमा होमिएका श्रेष्ठले २०३६ को जनमतसंग्रह, २०४२ को सत्याग्रह, २०४६ को प्रजातन्त्र पुनर्वहाली र २०६२/६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेका थिए । देशमा लोकतन्त्र स्थापना तथा शान्ति प्रक्रियामा उहाँको योगदान महत्त्वपूर्ण मानिन्छ ।

स्याङ्जाबाट पटक-पटक सांसद निर्वाचित श्रेष्ठले उपप्रधानमन्त्रीका साथै भौतिक योजना, वन, उद्योग र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले कांग्रेस संसदीय दलको प्रमुख सचेतक र तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापतिका रूपमा समेत दलको नेतृत्व गरेका थिए । श्रेष्ठको निधनले नेपाली कांग्रेसले एक अनुभवी र निष्ठावान् अभिभावक गुमाएको छ ।


सम्बन्धित समाचार
भर्खरै