१२ साउन, चितवन । लगभग ५० वर्षको उमेर पार गरेपछि धेरैजसो मानिसहरू धार्मिक तथा सामाजिक गतिविधिमा रमाउन रुचाउँछन् । तर, भरतपुर महानगरपालिका–१, रामनगरकी ६३ वर्षीया आमा दुर्गा कुँवरको दैनिकी भने फरक छ । उनले वृद्धावस्थामा शिक्षाको खोजी गरिहेकी छिन् ।
पारिवारिक जिम्मेवारी सम्हाल्दै उनी अहिले स्थानीय रामनगर माध्यमिक विद्यालयको कक्षा २ मा अध्ययनरत छिन् । कक्षा १ को वार्षिक परीक्षामा उत्कृष्ट ४ जीपीए ल्याएर प्रथम भएपछि उनी विद्यालयमै प्रेरणाको केन्द्र बनेकी छन् भने उनलाई शिक्षाप्रतिको हौसला झन थपिएको छ ।
दुर्गालाई पढ्ने इच्छा जगाउने त्यो घटना
दुर्गा कुँवरलाई यो उमेरमा विद्यालय जाने प्रेरणा एउटा विशेष घटनाबाट मिलेको थियो । भारतको मधुबन भ्रमणका क्रममा त्यहाँ पुगेका मानिसहरूले आफ्नो डायरीमा अनुभव र भावना लेखिरहेको देख्दा उनले आफू भने लेख्न नसक्ने अवस्थामा रहेको महसुस गरिन् । आफ्ना भावना र आवश्यक कुरा आफैं लेख्न नसक्नुको पीडाले उनको मनमा पढ्ने संकल्प जगायो । त्यसपछि उमेरलाई प्रवाह नगरी उनले पढ्न विद्यालय जाने निधो गरिन् । यो यात्रालाई उनले अक्षर चिन्ने प्रयासको रुपमा नभई आत्मनिर्भर बन्ने र आत्मविश्वास बढाउने माध्यमको रुपमा लिएकी छन् ।
एउटै बेन्चमा आमाहरूबीच प्रतिस्पर्धा
रामनगर माध्यमिक विद्यालयमा अहिले दुर्गा एक्लै छैनन् । कक्षा २ मा उनीसहित तीन जना, कक्षा ३ मा एक जना र कक्षा १ मा एक जना गरी पाँच जना आमाहरू नियमित रूपमा अध्ययन गरिरहेका छन् । सहपाठी अम्बिका कार्कीलाई लक्षित गर्दै दुर्गा भन्छिन्, ‘हामी एउटै बेन्चमा बसेर पढ्छौँ, राम्रो गर्न एकअर्कालाई हौसला दिन्छौँ र निकै प्रतिस्पर्धा पनि हुन्छ ।’
कक्षा १ मा प्रथम भएपछि विद्यालयले उनको फोटो गेटमा राख्ने प्रस्ताव गरे पनि उनले अस्वीकार गरिन् । उनी विनम्रताका साथ भन्छिन् ‘मलाई प्रचार गर्नु छैन, आफूलाई बदल्न र पढ्न–लेख्न सक्ने बन्न मात्र आएकी हुँ,’ ।
परिवार र समाजका लागि प्रेरणाको स्रोत
दुर्गाको यो कदमले छिमेकी र परिवारमा उत्साह थपेको छ । छिमेकी सीता चौलागाईं उमेरभन्दा इच्छाशक्ति ठूलो हुने बताउँछिन् भने घरमा टेलरिङ व्यवसाय गर्ने बुहारी मिनु कुँवर रानाभाट सासूको लगनशीलता र अनुशासनबाट अरुले पनि सिक्नुपर्ने बताउँछिन् । नर्वेमा रहेकी कान्छी छोरीले समेत फोनमार्फत आमाको साहसप्रति गर्व व्यक्त गर्छिन् ।
विद्यालयका प्रधानाध्यापक प्रविण विकका अनुसार दुर्गा आमाले पढाइको कुनै उमेर हुँदैन भन्ने कुरा व्यवहारमै प्रमाणित गरेकी छन् । उमेरकै कारण कुनै पनि मानिस शिक्षाबाट वञ्चित हुनु हुँदैन भन्ने सन्देश दिँदै ६३ वर्षको उमेरमा उत्कृष्ट नतिजा ल्याउने दुर्गा कुँवर अहिले समाजका लागि जीवित प्रेरणाको स्रोत बनेकी छन् ।




















