Logo

१२ साउन,वीरगञ्ज । नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोड प्रकरणमा वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

पर्सा प्रहरीका प्रवक्ता चक्रबहादुरका अनुसार चतुर्वेदीलाई घटनामा संलग्नताको विषयमा अनुसन्धानका लागि बोलाइएको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

गत शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी राजकुमार पटेलको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उपचारमा लापरबाही भएको आरोप लगाउँदै आक्रोशित आफन्त र स्थानीयले सोही दिन अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका थिए। त्यस क्रममा ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि समेत कुटपिट भएको थियो।

चतुर्वेदीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका आफन्त तथा स्थानीयले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले वडाध्यक्षलाई बिना सर्त रिहा गर्न माग गर्दै ‘नारायणी अस्पतालमा डाक्टरको गुण्डागर्दी बन्द गर’ लगायतका नारा लगाएका छन्।

यसैबीच, चिकित्सकमाथि भएको कुटपिटको विरोधमा सुरु भएको आन्दोलनका कारण वीरगञ्जका सरकारी तथा निजी अस्पतालमा तीन दिनदेखि आकस्मिकसहित अधिकांश उपचार सेवा प्रभावित बनेको छ।

आन्दोलन थप चर्किँदै जाँदा नारायणी अस्पतालका ७१ जना चिकित्सकले मंगलबार सामूहिक राजीनामा दिएका छन्। चिकित्सकहरूले घटनामा संलग्न दोषीमाथि कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा तथा सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलन जारी राखेका छन्।


सम्बन्धित समाचार