Logo

२ जेठ,सेढवा। अत्यधिक गर्मी र चर्को घामका कारण दैनिक पठनपाठन प्रभावित भएको छ । बैशाख महिना सुरुभएदेखि नै बढेको गर्मी र तातो हावा चल्दा विद्यार्थी र शिक्षकहरू कक्षा कोठामा बस्न समेत नसक्ने गरि नराम्रोसँग प्रभावित भएका हुन् ।
कक्षा कोठामा बस्दा गर्मी र पसिनाले भिज्ने गरेको विद्यार्थीको गुनासो छ । गर्मीकै कारण पाठ्यपुस्तक तर्फ ध्यान केन्द्रित गर्न नसक्ने उनीहरुको दुखेसो छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका–५ स्थित नेरा मावि निचुटाका प्रधानाध्यापक श्याम घिमिरेले एउटा कक्षामा एकसयभन्दा बढि विद्यार्थीलाई राखेर पढाउनु पर्ने भएकाले सहनै नसक्ने गरि उकुसमुकुस महसुस हुने गरेको जानकारी दिनुभयो ।

उहाँले विशेष मध्याह्न १२ बजेपछि निकै गर्मी महसुस हुने र टाढाबाट आएका विद्यार्थी प्रचण्ड घाममा घर फर्कंदा स्वास्थ्यमा समस्या देखिने गरेको बताउनुभयो । एउटा कक्षा कोठामा दुईवटा पंखाले नपुग्ने गरेको भन्दै प्राध्यापक घिमिरेले यसबारे वडा कार्यालयको ध्यानाकर्षण गराएको र छिट्टै खरीद हुने आश्वासन पाएको बताउनुभयो ।

 

त्यस्तै जीराभवानी गाउँपालिका–१ मा रहेको शिवशक्ति प्रावि, शान्तिनगरका प्रधानाध्यापक रविमोहन सापकोटाले पानी नपर्दा र हावा नचल्दा अत्याधिक गर्मी बढेकाले कक्षा सञ्चालनमा कठिनाइ भएको दुखेसो पोख्नुभयो । प्राथमिक विद्यालयमा अध्ययनरत स–साना बालबालिका गर्मीकै कारण पसिनाले निथु्रक्क भिज्ने गरेको उहाँको भनाई थियो ।

यता ठोरी गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले अत्याधिक बढेको गर्मीकै कारण पालिकामा रहेका सामुदायिक विद्यालयमा बिहानी कक्षा सुरु गरिएको जानकारी दिनुभयो । बिहानी कक्षा सञ्चालन भएपछि विद्यार्थीले गर्मीबाट केही राहत पाउने उहाँको विश्वास छ ।

उहाँले विद्यालयमा गर्मीका कारण पंखाको उचित व्यवस्था गरिएको र अपुग भएका विद्यालयमा भने पालिकाको कार्यलयबाट बुझेर लैजान सुझाव दिनुभएको छ । उहाँले पालिकामा रहेका सामुदायिक विद्यालयमा अध्यापनको लागि कुनै प्रकारको कमजोरी नहोस् भनेर आफू सतर्क रहेकोमा जोड दिनुभयो । साथै उहाँले त्यसमा इमानदार भएर पहल गरिने दावी गर्नुभयो ।


सम्बन्धित समाचार