Logo

५ जेठ, वीरगञ्ज। सत्ता गठबन्धन दल जसपाले सरकारमा सहभागी मन्त्रीको नाम आइतवार सम्म प्रधानमन्त्रीलाई बुझाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मन्त्रीको नाम सिफारीस गर्न पटक पटक आग्रह गरेपछि आइतवार मन्त्रीको सपथ गराउने गरी नाम दिन लागेको स्रोतले जनाएको छ ।

गठबन्धन दलबीच भागबण्डा गर्न जसपाको भागमा दुई मन्त्री र एक राज्यमन्त्री परेको थियो । जसपाको भागमा शिक्षा, विज्ञान तथा प्रविधि र वन र वातावरण मन्त्रालय र एक राज्यमन्त्री भागमा परेको हो ।

अहिलेसम्म जसपाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा पार्टी वरिष्ठ नेता अशोक राईलाई पठाएको छ । अब वनमन्त्री र एक राज्यमन्त्री पठाउन बाँकी छ ।

एक मन्त्री र राज्यमन्त्री आज पठाउने जसपाले तयारी गरेको छ । जसपाको केन्द्री समिति, कार्यकारिणी समिति र पदाधिकारीले अध्यक्ष उपेन्द्र यादवलाई मन्त्री पठाउने अख्तियारी दिएको छ ।

‘पार्टीका सबै समितिले मन्त्री पठाउने अख्तियारी अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् । अध्यक्षज्यूले आज मन्त्री पठाउने तयारी गरिरहनु भएको छ,’ जसपा प्रवक्ता मनिष सुमनले भने ।

जसपामा धेरै आकांक्षी भएकाले अध्यक्ष यादवलाई मन्त्री छान्न गाह्रो भएको छ । अहिलेसम्म मन्त्री बन्न प्रदीप यादव, राजकिशोर यादव, विरेन्द्र महतो र प्रमिला यादव लागिरहेका छन् । तर, अध्यक्ष यादवले प्रदीप र राजकिशोर मध्य एक जनालाई मन्त्री बनाउने तयारी गरेका उनी निकट स्रोतले जानकारी दियो ।

बाँकी मध्य एक जनालाई राज्यमन्त्री बनाउने तयारीमा उपेन्द्र रहेको उनीनिकट स्रोतले जानकारी दियो । ‘प्रदीप र राजकिशोर मन्त्री बनिसकेकाले यसअघि मन्त्री बनिसकेकाले राज्यमन्त्री बन्न नमिल्ने भएकाले दुई मध्य एकलाई मन्त्री बनाउने तयारीमा अध्यक्षज्यू हुनुहुन्छ,’ उपेन्द्र निकट स्रोतले भन्यो, ‘बाँकी आकांक्षीलाई मध्यबाट एक जना राज्यमन्त्री बन्नुहुन्छ ।’

जसपाले सिफारिस गरेकालाई मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । स्रोतका अनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवलाई बन मन्त्री बनाउने गरी तयारी भइरहेको छ । बारा निर्वाचन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा विजयी भएपछि उपेन्द्र यादवले आफ्नो पार्टीबाट पठाउने मन्त्रीको नाम सिफारीस गर्ने बताए थिए । प्रमिला यादवलाई शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्री बनाउने मुडमा अध्यक्ष यादव रहेको जसपाका एक केन्द्रीय सदस्यले बताए ।


सम्बन्धित समाचार