Logo

७ जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएपछि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाग लिने तय भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

यसअघि ओलीले जेठ ४ गते नै संसद्मा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सम्बोधन नगरेका ओलीले आज सम्बोधन गर्ने र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर धारणा राख्ने प्रमुख सचेतक गिरीले जानकारी दिए ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै छ । सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।

शनिबार बसेको एमाले संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको सशक्त विरोध गर्ने निर्णय गरेको थियो । संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको सशक्त प्रतिवाद गर्न एमाले नेताहरुलाई निर्देशन दिएका थिए ।

गिरीले, सरकारले मुलुकको अहिलेको अर्थतन्त्रको समस्या समाधान गर्नेभन्दा पनि जनतालाई भ्रममा पार्ने किसिमले नीति तथा कार्यक्रम ल्याएकाले एमालेले त्यसको विरोध गर्ने बताए ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सभामुखले उपलब्ध गराउने समयसीमा भित्र रहेर दलगत रुपमा सांसदहरुले आ(आफ्ना धारणा राख्नेछन् ।

आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ ।


सम्बन्धित समाचार