Logo

फाइल तस्वीर

३० साउन,काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।मुगु, सोरू गाउँपालिका–७ चिप्लेगौडामा सोरूकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ज.१ च ७७६२ नम्बरको बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा हुम्ला सर्केगाड गाउँपालिका–२ रिपगाँउ बस्ने २२ वर्षीय राम परियार, सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश बोहोरा, २० वर्षीय राम परियार, २२ वर्षीय पिउस परियार र मुगु सोरू गाउँपालिका–५ बस्ने ३७ वर्षीय लोकजंग नेपाली रहेका छन्। साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

सिरहा, भगवानपुर गाउँपालिका–२ डोमराहा टोलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया देवकी देवी यादवको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुर हुँदै प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

नुवाकोट, बिदुर नगरपालिका–५ तल्लो पिपलटारस्थित सडकमा बा.९१ प ६६५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय कबिन कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

महोत्तरी, पिपरा गाउँपालिका–३ स्थित सडकमा प्रदेश २–०२–००४ प ४९१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक महोत्तरी गाउँपालिका–३ मडई बस्ने ३५ वर्षीय श्रवण कुमार भण्डारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो।


सम्बन्धित समाचार