Logo

३० साउन,वीरगञ्ज । हिन्दू धर्ममाथिको आस्था र विश्वासमाथि प्रहार गर्ने समाचार लेखेको भन्दै अज्ञात समूहले आज बिहानै वीरगन्जमा पत्रिका जलाएका छन् ।

यसैक्रममा धर्म सम्बन्धि कुनै समाचार नलेखेको नेपालको पहिलो राष्ट्रिय आर्थिक दैनिक पत्रिका कारोबार समेत जलाएका छन् । समाचार नलेखिएको पत्रिका जलाएको प्रति कारोबार दैनिक पत्रिकाको प्रकासन गृह टीबीआई पब्लिकेसनले खेद प्रकट गरेको छ ।

समाचार लेखेकै विषयको विरोधमा पत्रिका नै जलाउनु कुनैपनि दृष्टिकोणबाट सही नभएको भन्दै आम नागरिकले आलोचना समेत गरेका छन् । त्यस्तै कान्तिपुर दैनिक पत्रिका पनि जलाइएको छ ।

व्यापारिक घराना चौधरी समूहले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीस्थित शाश्वत धाममा ल्याउने तयारी गरिरहेको बेला कान्तिपुर पत्रिकाले साउन २८ गतेका दिन ‘अतिवादी धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै’ भन्ने शीर्षकमा समाचार लेखेको थियो ।

सोही दिनदेखि हिन्दूवादी सङ्घ सङ्गठनहरूले कान्तिपुर पत्रिकाको विरोध गरिरहेका छन् । विरोधकै स्वरूपमा आज वीरगञ्जको बाइपास रोडमा कान्तिपुर पत्रिका जलाउँदै उनीहरू कान्तिपुर पत्रिकाको विरोधमा नाराबाजी पनि गरेका छन् ।‘हिन्दु विरोधी कान्तिपुर मुर्दावाद’ को नारा लगाउँदै उक्त समूहले पत्रिका जलाएका थिए ।

उनीहरूले सामाजिक सञ्जालमा कान्तिपुरलाई अनफलो गर्ने अभियान पनि चलाएका छन् । उनीहरुले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बाइपास रोडस्थित नगरपालिका ढाँटमा पत्रिका ढुवानी गर्ने सवारी साधन रोकेर पत्रिका जलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

पत्रिका जलाउने समूहले पत्रिका वितरण गर्ने गाडी समेत जलाउने धम्की दिएका छन् । यसरी पत्रिका जलाएको समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक दिपक गिरीले आफूहरु मिटिङमा रहेको र पत्रिका जलाएको खबर पाउने बित्तिकै घटनास्थलमा टोली खटाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी टोली पुग्दा पत्रिका निकालेर जलाएको भेटिएको हो । समाचारप्रति चित्त नबुझे कानुनी बाटो र प्रक्रिया भएपनि पत्रिका जलाउनु प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले बताउनुभयो । प्रतिक्रिया जनाउने अन्य माध्यम र कानूनी बाटोहरु भएपनि विध्वंस रोज्नु ठिक नभएको सचिव चौहानको भनाइ छ ।


सम्बन्धित समाचार