Logo

फाइल तस्बिर

२६ असोज,सर्लाही। अर्थ मन्त्रालयले दशैँमा समेत उखुको अनुदान रकम नपठाउँदा सर्लाहीका किसान निराश बनेका छन् । किसानले गएको वर्ष नै चिनी उद्योगलाई बिक्री गरेको उखुको अनुदान रकम अझै नपाउदाँ निराश बनेका हुन् ।

सरकारले गत वर्ष ०७९÷८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ निर्धारण गरेको थियो । त्यसमध्ये चिनी उद्योगले ५४० रुपियाँ भुक्तानी गर्ने र बाँकी ७० रुपियाँ सरकारले अनुदानबापत उपलब्ध गराउने उल्लेख छ । उखु बिक्री गरेको सात महिना भइसक्दा समेत उखु किसानलाई सरकारले अनुदान रकम नपठाएको हो ।

नयाँ रोपिएको उखु गोडमेल गरेर मलखाद गर्ने बेला भएको र चाडपर्व नजिकिँदै गरेको समयमा सरकारले अनुदान रकम नपठाउँदा किसान चिन्तित बनेका हुन् । हरिवन नगपालिका–७ का किसान हरिदेव महतोले चाडपर्वका बेला अनुदान रकम नदिएर सरकारले उखु किसानमाथि अन्याय गरेको गुनासो गर्नुभयो ।

उद्योगले बेलैमा रकम भुक्तानी नगर्दा सरकारसँग हारगुहार गर्दै आन्दोलनमा उत्रने आफूहरू सरकारले नै अनुदान रकम नदिँदा निरीह भई बस्नु परेको उहाँले बताउनुभयो । कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका कोष नियन्त्रक पुरुषोत्तम बरालले अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको बताउनुभयो ।

उहाँले कार्यालयलाई रकम प्राप्त भएपछि करिब दुई साता आन्तरिक तयारी गरेपछि किसानको खातामै रकम पठाइने बताउनुभयो । उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले पटक पटक मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आइरहेको जानकारी दिनुभयो ।


सम्बन्धित समाचार