Logo

२ माघ,रौतहट । मकैमा गवारो लागेपछि रौतहटका किसान चिन्तित बनेका छन्। मकै उम्रनेबित्तिकै गवारोले सखाप पार्न थालेपछि जिल्लाको उत्तरी भेगका किसान चिन्तित भएका हुन्।

व्यावसायिक रुपमा मकै खेती हुने चन्द्रपुर नगरपालिकाको गौडाटार, सन्तपुर, वसन्तपुर, नजरपुर र सिन्दूरेघारी र वृन्दावनका विश्रामपुर, बलेरी, गुजराको सिम्री, कनकपुर, मैरा र फतुवा विजयपुरको सन्तपुर, विजयपुरलगायत क्षेत्रमा गवारोको प्रकोप देखिएको हो।

रातमा सक्रिय हुने गवारोले मकैको गुभाबाट खान शुरु गरेर मकैको पूरै बोट नष्ट गरिरहेको वृन्दावन–१ बलेरीका किसान संजिप पटेलले गुनासो गरे।

अत्यधिक मकै उत्पादन हुने वृन्दावन नगरपालिका वडा नं १ र चन्द्रपुरको वडा नं ८ र ९ क्षेत्रमा गवारोले हाइब्रिड मकै नष्ट पारिहेको चन्द्रपुर नगरपालिका–९ का स्थानीय कुमार गौतमले बताए।

दिनदिनै किराको प्रकोप बढ्न थाले पनि चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि र नगरपालिकाअन्तर्गत कृषि शाखाको टोलीले प्रभावित क्षेत्रको अनुगमनसमेत नगरेको गौतमको गुनासो छ।

जैविक प्रकोपबाट बच्न किसानहरुले बाली बिमा गर्न आवश्यक रहेको वृन्दावन नगरपालिकाका कृषि शाखा प्रमुख ओमप्रकाश मूलले बताए।

नगदे बाली मकैबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान गवारोको आक्रमणबाट अनिकालले सताउने हो कि भनेर चिन्तित छन्।

विगतमा पनि रौतहटको उत्तरी भेगमा असिनापानीले मकै नष्ट गर्दा किसान पीडित भएका थिए। मकै राम्रो उत्पादन हुने क्षेत्रमा गुजरा र फतुवा विजयपुर नगरपालिका पनि पर्छ।


सम्बन्धित समाचार