Logo

फाइल तस्विर

६ माघ,वीरगञ्ज । यसवर्ष हिउँदमा पानी नपरेपछि किसान चिन्तित देखिएका छन् । गहुँ, तोरी, मुुसुरो, तरकारी लगायतका हिउँदेबालीलाई अहिले पानी चाहिएको छ । तर देशका धेरै ठाउँमा हिउँदे वर्षा नहुदाँ किसान चिन्तित बनेका हुन् ।

केही दिनअघि पूर्वी पहाडका केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि जमिन भिज्नेगरी वर्षा भएन । फाट्टफुट्ट मात्रै पानी परेको र पानी पर्दै नपरेको ठाउँका किसान हिउँदे वर्षाको पर्खाइमा छन् ।

पर्साको बहुदरमाई नगरपालिका वडा नंं १ का स्थानीय किसान परमानन्द कुशवाहाले यसवर्ष हिउँदे वर्षा नहुदाँ उत्पादनमा ह्रास आउने चिन्ताले सताएको गुनासो गरे ।

मौसमविदका अनुसार तत्काल हिउँदे वर्षाको सम्भावना देखिँदैन, तर माघ मसान्तसम्ममा पानी पर्ने सङ्केत भने देखिएको छ ।

माघमध्य वा अन्त्यसम्ममा पानी पर्ने संकेत देखिएको जलवायुविद् डा. धर्मराज उप्रेतीले जनाए । तर यसअघि मौसमविद्ले हिउँदमा धेरै वर्षा हुने भन्दै गरेको पूर्वानुमान फेल खाएकाले माघ मसान्तसम्म पानी पर्छ नै भनेर एकिन नहुने उनको भनाइ छ ।

पछिल्लोपटक मौसम पूर्वानुमानमा आधुुनिक प्रविधि भित्रिए पनि अनुमान शतप्रतिशत मिलाउन नसकिने मौसमविद्हरुले बताएका छन् ।

माघ मसान्तसम्म पानी परेन भने हिउँदे बालीलाई प्रत्यक्ष असर पर्ने र यसको प्रभाव वर्षेबालीको तयारीमा समेत पर्नेछ ।


सम्बन्धित समाचार