Logo

३० कार्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले निर्वाचनको मुखमा दैनिक ज्यालादारीमा नियुक्त गरेका करिव ५ सय कर्मचारी मध्ये अधिकांश प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव प्रचारमा लागेको पाइएको छ ।

वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरु पर्सा निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उमेदवार बनेका रुपेशमान सिंहको पक्षमा भोट मागेर हिडेको तस्विर सामाजिक सञ्जालहरुमा देख्न पाइन्छ । रुपेशमान नातामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमानका भतिजा हुन ।

महानगरपालिकामा अहिले इहाजिरीको व्यवस्था गरिएको छ । ती कर्मचारी कार्यालय समयमा आएर हाजीरी गर्ने र त्यसपछि तोकिएको वडामा चुनाव प्रचारमा जानेगरेको पाइएको हो । विहान देखि राती सम्म प्रचार कार्यमा हिडेका ती कर्मचारीहरुले आफ्नो फेसबुक पेजमा समेत रुपेशमान सिंहको प्रचार गरेको देखिन्छ ।

वीरगञ्ज महानगरपालिकाले कानुन विपरीत दैनिक ज्यालादारीमा झण्डै ५ सय कर्मचारी भर्ना गरेको छ । नियुक्तीको मिति भदौ महिनाको देखाइएको छ । दैनिक ज्यालादारीमा काम लगाइएका केही कर्मचारीलाई कार्तिक ४ गते सम्म पुरानो मिति राखेर नियुक्ती दिइएको थियो ।

निर्वाचन आचार संहिता लागु भएपछि नियुक्ती दिइएको छ स्रोतले भन्यो “अहिले डिजिटल हाजीरी सिष्टम भएकोले कुन कर्मचारी कहिले देखि हाजीरी भएको छ त्यसको हाजीरीको मिति हेरेपछि थाहा हुन्छ ।”

रुपेशमानको चुनाव प्रचारमा हिडेका महानगरपालिकाका कर्मचारीहरु मध्ये सरसफाइकर्मी, विजुली मिस्त्री, कार्यालय सहायक र नगरप्रहरीमा नियुक्ती भएका दैनिक ज्यालादारीका कर्मचारी हुन । उनीहरुको तस्विर सामाजिक सञ्जाल फेसबुकमा देख्न सकिन्छ । मेयर सिंहले निर्वाचनलाई लक्षित गरि धेरै संख्यामा दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेका छन ।

वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहले आफ्नै भतिजा रुपेशमानलाई जिताउन लागि परेका छन । जनता समाजवादी पार्टीबाट मेयरमा निर्वाचित सिंहले एमाले–जसपा गठबन्धनका उमेदवार विरुद्ध घर परिवारकै सदस्यलाई प्रदेशसभा सदस्य पदमा स्वतन्त्र रुपमा उठाएका हुन । त्यस क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट एमालेका उमेदवार हरेराम पटेल चुनावी मैदानमा छन् ।

मधेस आन्दोलन देखि राजेशमानलाई साथ दिदै आएका प्रेमबाबु पटेल र स्थानीय निर्वाचन भन्दा एक बर्ष अघिदेखि राजेशमानको साथमा हिडेका मुकेश द्विवेदीलाई पाखा लगाएर परिवारकै सदस्यलाई अगाडी बढाएपछि मेयरसँग रहेका पुराना कार्यकर्ता उनको साथमा देखिदैनन् ।

अहिले रुपेशमानलाई जिताउन वीरगञ्ज महानगरपालिकाका कर्मचारी र केही विद्यालयका शिक्षक शिक्षिकाहरु समेत खुलेर लागेका छन । कन्या माध्यामिक विद्यालयकी स्थायी शिक्षिका अन्नपूर्ण मानन्धर र मनीयार आधारभूत विद्यालयकी करारकी शिक्षिका पिंकी यादव चुनाव प्रचारमा घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् ।

अन्नपूर्ण मानन्धर मेयर राजेशमान सिंहको श्रीमति हुनभने पिंकी यादव जसपाबाट पर्सा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उमेदवार प्रदीप यादवको श्रीमति हुन । दुवैजना एकसाथ प्रदीप यादवको प्रचारमा घरदैलोमा हिडेका छन तर निर्वाचन आयोगले त्यस तर्फ कुनै चासो देखाएको छैन ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले कर्मचारी उमेदवारको पक्षमा प्रचारमा हिडेको भन्ने सुचना आफूलाई नभएको बताए । यदी कुनै कर्मचारी प्रचारमा हिडेको प्रमाण भए उनीहरुलाई कार्वाही गरिने पौडेलको भनाई थियो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशभाका निर्वाचन नजिकिएसँगै पर्सामा निर्वाचन आचारसंसहिता उल्लंघनका घटना बढेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका बिषयलाई निर्वाचन आयोगले मात्र हेर्ने गरेकोले त्यस्ता विषयलाई स्थानीय रुपमा नोटिसमा राख्न नसकिने जनाएको छ ।

यसको नियमन र कारवाहीको जिम्मा लिएको जिल्ला निर्वाचन कार्यालयले समेत कुनै चासो राखेको छैन । जिल्लामा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखको संयोजकत्वमा गठन गरेको आचार संहिता अुनगमन समितिले समेत प्रभावकारी रुपमा काम गर्न सकेको छैन । वीरगञ्जमा निर्वाचन आचार संहित उल्लंघनका घटना भएपनि स्पष्टीकरण सोध्ने काम समेत अनुगमन समिति र निर्वाचन कार्यालयले गरेको छैन । जसका कारण आचारसंहिता उल्लंघन घटना बढेको हो ।

आयोगले निर्वाचनलाई निष्पक्ष बनाउन जनप्रतिनिधिले आफू निर्वाचित भएको पालिका भित्र चुनाव प्रचार गर्न रोक लगाएको छ । त्यसै गरी शिक्षक र कर्मचारीलाई कुनै राजनीतिक दलको पक्षमा प्रचारमा हिड्न बन्देज लगाएको छ । तर सामाजिक सञ्जालमा शिक्षक, शिक्षिका र कर्मचारीहरुले उमेदवारको पक्षमा मत मागेको र घरदैलो गरेको तस्विर सार्वजनिक भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै चासो देखाएको छैन ।

पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले सामाजिक सञ्जाल र मिडियामा आएका विषयलाई निर्वाचन आयोगले नै केन्द्रबाट अनुगमन गरेकोले यस जिल्ला स्तरबाट कुनै कार्वाही नगरिएको बताए । कसैको वारेमा लिखित उजुरी आएमा स्पष्टीकरण सोध्ने काम भएको छ उनले भने ।


सम्बन्धित समाचार