Logo

१४ जेठ, वीरगन्ज । मधेश प्रदेशमा बालबालिका हराउनेको संख्या चिन्ताजनक देखिएको छ । यो आर्थिक वर्षको १० महिनामा मात्र एक हजार भन्दा बढी बालबालिका हराएका हुन ।

प्रहरी आँकडाले हरेक महिना ४१ जना भन्दा बढी बालबालिका हराइरहेको देखाउँछ । तरपनि खोजविन जारी रहेको प्रहरी बताउँछ ।

९ जेठमा पर्साबाट एक १४ वर्षीया बालिका हराइन । जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ६ बाट पुजा कुमारी हराएकी प्रहरी तथ्यांक छ ।

घरबाट निस्केकी पुजा भने अहिलेसम्म हराएकी सूचिमा रहेको पर्सा प्रहरी बताउँछ । उनी हराएकी आज ६ दिन भइसकेको छ । कसैको सम्पर्कमा नआएपछि उनको खोजी कार्य जारी रहेको प्रहरी भनाइ छ ।

पर्सा मात्र होइन, बितेको १० माघमा धनुषा जिल्लाबाट ७ वर्षीया बालक हराए । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ घर भएका (हाल जनकपुर–४) ७ वर्षीया बालक घरबाट निस्केको प्रहरी रेकर्ड छ । त्यसपछि उनी अहिलेसम्म कसैको सम्पर्कमा आउन सकेका छैनन् । जसकारण उनको मधेश प्रहरीको सूचिमा अझै खोजविनकै रेकर्डमा नाम दर्ज छ ।

धनुषा र पर्साबाट मात्रै बालबालिकाहरु हराएका छैनन् । प्रदेशको ८ वटै जिल्लाबाट बालबालिकाहरु बेपत्ता भइरहेको प्रहरी विवरण छ ।

मधेश प्रदेश प्रहरीका अनुसार चालू आर्थिक वर्षमा १ हजार ८४ जना बालबालिका हराएका छन् ।

कुन जिल्लाबाट कति हराए ?

प्रहरीको मानिसको जीउ धनको रक्षा गर्नु प्रमुख दायित्व हो । तर एकाएक बालबालिकाहरु बेपत्ता भइरहँदा पनि खोजविनमा प्रहरी खेलाँची गरिरहेको उसैको विवरणले झल्काइरहेको छ ।

पर्सादेखि सप्तरीसम्म प्रदेशका ८ वटै जिल्लाहरुमा बालबालिकाहरु बेपत्ता भइरहेका छन् । तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्षको १० महिनामा पर्साबाट १६३, बाराबाट १४०, रौतहटबाट ९९, सर्लाहीबाट ६३ जना बालबालिका बेपत्ता भएको प्रहरी तथ्यांक छ ।

यसैगरी महोत्तरीबाट ९२, धनुषाबाट १७०, सिरहाबाट १६८ र सप्तरीबाट ८९ जना बालिबालिकाहरु हराएको मधेश प्रदेश प्रहरी प्रवक्ता सुवास चन्द्र बोहोरा बताउँछन् ।

उनका अनुसार यसमा अझ चिन्ताको विषय के हो भने बालबालिका हराउनेहरुमा बढी बालिका हराइरहेको देखिन्छ, जुन अझ गम्भीर विषय हो ।

हराउनेमा बालिका बढी

प्रदेशभरिबाट हराउनेमध्ये धेरैको संख्यामा बालिकाहरु हराइरहेकी छन् । अर्थात् कुल हराउने बालबालिकाहरुमध्ये ९० प्रतिशतको हाराहारीमा खाली बालिकाहरु हराउने गरेको प्रहरी विवरण छ ।

यो दश महिनाको अवधिमा प्रदेशबाट हराएका बालबालिकाहरुमध्ये ९१२ जना बालिका छन । बालिका बेपत्ता हुने विवरण जिल्लागतरुपमा हेर्ने हो भने पर्साबाट १३३, बाराबाट १२०, रौतहटबाट ८५, सर्लाहीबाट १४०, महोत्तरीबाट ८२, धनुषाबाट १४५, सिरहाबाट १४२ र सप्तरीबाट ६५ बालिका अझ गायब नै रहेका प्रहरी आँकडा छ ।

यद्यपी, आठवटै जिल्लाबाट हराउने बालबालिकाहरुमध्ये ६७० जना बालबालिको उद्धार भएको मधेश प्रदेश प्रहरीको तथ्यांक छ ।

यसलाई आधार मानेर हेर्ने हो भने प्रदेशबाट ४१४ जना बालिबालिका अझ बेपत्ता छन् । प्रहरीको तथ्यांकलाई केलाउदा मधेशमा हरेक महिना ४१ जना भन्दा बढी बालबालिकाहरु हराइरहेको देखिन्छ ।

के भन्छ प्रहरी ?

प्रदेश प्रहरी प्रवक्ता बोहोराले हराएकामध्ये धेरैको उद्धार गरेको जनाए । उनका अनुसार मानव बेचबिखनमा परेका, अपहरण तथा सीमा नाकाहरुबाट धेरैको उद्धार गरिएको छ । केहीको भने अलपत्र परेको अवस्थामा समेत उद्धार गरिएको उनको भनाइ छ ।

तर बेपत्ता भएका बालबालिकाको सवालमा उनी भन्छन्, ‘हामी कहाँ सुरुमा हराएको सूचना आउँछ , त्यो प्रहरी रेकर्डमा लेखिन्छ । तरपछि ती बालबालिकाहरु फेला प¥यो भने उनका अभिभावकहरु भने फेला परेको बारे जानकारी गराउँदैनन्, जसका कारण बेपत्ता हुनेहरु त्यही सूचिमा रहिरन्छ । तर उनीहरु बेपत्ता भएका चाहि होइनन् ।’


सम्बन्धित समाचार