Logo

९ असार,काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगीका फरार साथी जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्री रवि लामिछानेले भगाउने नियत देखाएको आशंका व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा शुरूमै बोल्दै शर्माले गोप्य सूचना सार्वजनिक गर्ने तर पक्राउको लागि कुनै कसरत नगर्ने शैलीमा नियत देखिएको बताएका हुन् ।
‘संसारलाई थाहा छ । गोरखा मिडियाका तत्कालीन दुई मालिकमध्ये एउटा फरार छन् । अर्को गृहमन्त्री हुनुहुन्छ । सहकारी ठगीमा फरार व्यावसायिक साथीलाई सहकारी ठगीमा रहेकालाई गृहमन्त्रीले पक्राउ गर्नुपर्नेछ,’ शर्माले भने, ‘लोकेशन पत्ता लाग्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ । अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटोकटीपन हो । कि भगाउने नियत हो ?’

देशलाई जीबीको लोकेशन नभई उनी चाहिएको भन्दै शर्माले लोकेशन पत्ता लागेको चार दिनसम्म केही कुनै प्रयास नगरेको भन्दै प्रश्न उठाएका हुन् ।

‘जीबी राईको लोकेशन चाहिएको होइन । देशलाई जीबी राई चाहिएको छ । लोकेसनमा गेट बनाएर कार्पेट ओछ्याएर दुई पक्षीय वार्ता हुने हो ?,’ उनले भने, ‘लोकेशन पत्ता लागेको ४ दिन भयो । लोकेशन पत्ता लागेपछि मलेसियाको सरकारसँग समन्वय गर्न चार दिन किन लाग्छ ?’

सुपुर्दगी सन्धिले समस्या भए पनि प्रयास नै नगर्नुले समस्या भएको उनले बताए ।

रविले असार ६ गते जीबी राईको मलेसियामा लोकेशन पत्ता लागेको बताएका थिए ।

तर सामाजिक सञ्जालमा गोप्य सूचना चुहाए पनि पक्राउ नगरिनुले गम्भीर आशंका उत्पन्न गराएको उनले बताए ।


सम्बन्धित समाचार