Logo

९ साउन,काठमाडौं । सौर्य एरयलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शव पहिचान गर्न ७२ घण्टासम्म लाग्ने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

कतिपयको अनुहार जलेको र चिन्न नसकिने अवस्था रहेको शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. गोपालकुमार चौधरीले बताए ।  १८ वटा शव फ्रिजमा राखिएको र पहिचानका लागि विभिन्न विधि प्रयोग गरिने डा. चौधरीले बताए ।

मृतकको फिंगर प्रिन्ट, दाँतको बनावट, शरीरको बनावट र डीएनएमार्फत शवको पहिचान गरिने उनले बताए । ‘हामीसँग २५ जनाको टीम छ । दुईवटा टेबलमा राखेर शव पहिचानको काम शुरू गर्छौं,’ डा. चौधरीले भने ।

शव बुझ्नका लागि अस्पताल बाहिर मृतकका आफन्त भेला भइसकेका छन् । अस्पताल परिसरमा रुवाबासी चलेको छ । डाक्टर चौधरीले एउटा शव पहिचानका लागि ४ घण्टादेखि २४ घण्टासम्म लाग्ने बताए ।

जलेका र अनुहार चिन्न नसकिने अवस्थामा रहेका शव पहिचान गर्न अप्ठ्यारो पर्ने उनले बताए । प्रहरीको फरेन्सिक र मुचुल्का टोली आएपछि काम शुरू गरिने उनको भनाइ छ ।
बुधवार त्रिभुवन विमानस्थल परिसरमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित समाचार