Logo

१४ साउन,वीरगञ्ज ।सशस्त्र प्रहरी पर्साले वीरगञ्जबाट १३ लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्जका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले १३ लाख ३४ हजार २०५ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनरवाका विभिन्न सीमावर्ती नाकाहरुबाट विभिन्न सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा किराना सामान, कपडा, हार्डवेयर तथा मोटर पार्टस बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए ।

उनकाअनुसार बरामद सामग्रीलाई १२ लाख २३ हजार ७०५ रुपैयाँ मूल्यांकन गरी आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले एक लाख १० हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौबाट अवैध रुपमा ल्याइएको हार्डवेयरका सामान बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।


सम्बन्धित समाचार