Logo

२४ भदौ,वीरगञ्ज । बजेटमा भागबन्डा नमिल्दा पर्साका पाँचवटा पालिकामा अझै नगर परिषद् हुन सकेको छैन् । मेयर र वडाअध्यक्षसहित पालिका सदस्यहरुबिच बजेट रकममा भागबन्डा नमिल्दा नगर परिषद् बिथोलिएको छ ।

संवैधानिक प्रावधान अनुसार ३० असारभित्र पालिकाहरुले आ–आफ्नो नगर परिषद् गरिसक्नु पर्ने हो । तर पर्साका पाँचवटा पालिकाहरुमा मनपरी बजेट राख्नमा भागबन्डा नमिल्दा परिषद् प्रभावित भएको बताइन्छ ।
जिल्लाको बहुदरमाइ नगरपालिका तथा बिन्दवासिनी, धोबनी, कालिकामाइ र पकहामैनपुर गाउँपालिकामा अझ नगर परिषद् हुन नसकेको हो ।

पाँचवटै पालिकामा मेयर र वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुमा बजेट बाँडफाँडमा मतभेद भएपछि नगर परिषद् प्रभावित भएको जनाइएको छ । बहुदरमाइ नगरपालिकाको नगर परिषद् अझ अन्योलतामै रहेको नगरपालिकाको कार्यालयले जनाएको छ । मेयर र वडाअध्यक्षहरुबिच चर्को विवाद उत्पन्न भएपछि नगर सभा अनिश्चित बन्दै गएको छ ।

नगर प्रमुखले नै बजेट तथा योजनामा मनोमानी गर्न थालेपछि नगर परिषद् हुन अनिश्चित बनेको बताइन्छ । मेयर सिंघासन साह तेलीको मनपरीले नगर परिषद् हुन नसकेको वडाअध्यक्षहरुको गुनासो छ ।
बहुदरमाइ नगरपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष दिनेश यादवले मेयरले पालिकामा मनपरी बजेट राख्न खोजेपछि विवाद चर्किएको बताए ।

त्यही विवादको कारण नगर परिषद्मा असर पुगेको उनी बताउँछन् । उनी भन्छन्, ‘मेयरले आफ्नो आसेपासेका अनुसार बजेट राख्न खोजिरहेका छन्, वडाअध्यक्षहरुसंग कुनै तालमेल नगरीकन । वडाअध्यक्षहरुको योजनालाई पनि बेवास्ता गर्न खोजेपछि विवाद चर्किएको हो । मेयर साहेबको मनपरी अन्त्य नभएसम्म हामी सहमति गर्दनौं ।’ उनका अनुसार वडाअध्यक्ष पनि जनतप्रतिनिधि नै हुन, जनताबाट चुनिएर आएका हुन ।

उनले भने, ‘हामीले पनि मेयरसाहेब जस्तै जनताको विकासका लागि काम गर्नुपर्छ, काम गरिएन भने जनताले हामीलाई छाँड्दैनन् । तर मेयर साहेबले त्यसको परवाह छैन, आफ्नै मनपरी छ । मूलतः यहीकारण हो विवादको ।’

आफूले नै सबै योजना चलाउन थालेपछि पालिका अधिकांश सदस्यहरु मेयरको विरोध उत्रिएको उनको भनाइ छ । यो विवादका प्रतिक्रिया लिँदा बहुदरमाइका मेयर साहले भने आफ अहिले बोल्न सक्ने अवस्थामा नरहेको बताए । उनले भने, ‘म अहिले अस्पतालमा छु, विरामी छु । अन्य विषयमा तत्कालै कुराकानी गर्न सक्दिन् ।’ मेयर साहले भागबन्डामा बढी हिस्सा लिन खोज्दा विवाद चुलिएको पालिका सदस्यहरुको आरोप छ ।

यसैगरी विन्दवासिनी गाउँपालिकामा पनि गाउँपालिका प्रमुख र वडाअध्यक्षहरुबिच तालमेल नमिल्दा नगर परिषद् हुन सकेको छैन । गाउँपालिका प्रमुख प्रमोद तिवारी वडाअध्यक्षहरुबिच आपसी सहमति नजुट्दा नगर परिषद् अनिश्चित बनेको उपप्रमुख ज्योति चौरसिया बताउँछिन । वडाअध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मीले गत वर्षको हिसाबकिताम माग गर्दा जानकारी नदिएपछि विवाद चर्किएको सुनाए ।

धोबनी गाउँपालिकामा पनि मेयर र वडाअध्यक्षहरुबिच बजेट बाँडफाँडमा मतभेद भएपछि नगर परिषद् प्रभावित बनेको पालिका सदस्यहरुको गुनासो छ । चालू आर्थिक वर्षको बजेटमा मेयर मदन चौहान र वडाअध्यक्षहरुबिच बजेट बाँडफाँडमा असन्तुष्टि बढेपछि त्यहाँको नगर परिषद् प्रभावित बनेको जनाइएको छ ।

गाउँपालिका प्रमुख चौहानले पनि वडाअध्यक्षहरुसंगको मतभेदका कारण नगर परिषद् रोकिएको बताए । तर त्यसका लागि छलफल भने भइरहेकोले चाँडै परिषद् हुने उनको भनाइ छ । यता पकहामैनपुर गाउँपालिका प्रमुख सुरेश मेहताले पनि आफ्नो नगर परिष्द हुन नसकेको स्वीकारे । भागबन्डामा सहमति नमिल्दा नगर परिषद् भाँडिएको उनको स्वीकारोक्ति छ ।

त्यसैगरी कालिकामाइ गाउँपालिकामा पनि नगर परिषद् हुन सकेको छैन । कर्मचारीको विवाद देखाएर गाउँपालिका प्रमुख बशिष्ट कुमार र वडाअध्यक्षबिच चर्को विवाद चुलिएपछि नगर परिषद् हुन नसकेको बताइएपनि वास्तविकमा भने आपसी तालमेल नमिल्दा नगर परिषद् रोकिएको पालिकाका सदस्यहरु बताउँछन् ।

गाउँपालिका प्रमुख कुमारले भने अहिले पालिकामा विभिन्न विषयमा विवाद भएकोले गर्दा नगर सभा नभएको बताए । तरपनि सबै विवाद सुल्झाएर चाँडै परिषद गर्न लागिएको उनको दाबी छ ।


सम्बन्धित समाचार