११ पुष, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले आजदेखि आन्दोलन शुरु गरेका छन् । उनीहरुले हामी आन्दोलनमा छौं लेखिएको ब्यानर सहित वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघबाट निस्केको विरोध ¥याली आदर्शनगर हुँदै आदर्शनगरमै रहेको नेपाल राष्ट्र बैंक अगाडी पुगेर समापन भएको थियो । बैंकको ब्याजदर चर्को भएको र नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पूँजी कर्जा मार्गदर्शन खारेजीको माग गरेर उद्योगी व्यवसायी आन्दोलित भएका हुन् ।
उनीहरुले उद्योग वाणिज्य संघ र नेपाल राष्ट्र बैंकको अगाडि कालो ब्यानर समेत टाँगेका छन् । बैंकहरुको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको चालू पुँजी कर्जा निर्देशिका २०७९ का कारण आर्थिक संकट बढेको गुनासो गर्दै उद्योगी व्यवसायीहरु आन्दोलित भएका हुन् ।
८ प्रतिशतमा लिएको ऋणको ब्याजदर १५ प्रतिशत पुगेर धेरै जनाको सम्पत्ति लिलामीको प्रक्रियामा जान लागेकोले आन्दोलनमा जानु परेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले जानकारी दिनुभयो । वीरगञ्ज उद्योग वाणिज्य संघले नेतृत्व गरेको आन्दोलनमा मधेस प्रदेश भरका उद्योग वाणिज्य संघ, नेपाली युवा उद्यमी मञ्च, होटल तथा पयर्टन व्यवसायी संघ वीरगञ्ज लगायत २६ वटा संघ संस्थाले साथ दिएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक टेमानीले २१ गतेसम्म आन्दोलन गर्दा पनि सुनवाई नभए थप आन्दोलनका कार्यक्रम ल्याउने बताउनुभयो । नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेश समित अध्यक्ष गणेश लाठले व्यापारीलाई सडकमा आउन बाध्य पार्नुको साटो व्यापार व्यवसाय गर्न सहज
वातावरण बनाईदिन आग्रह गर्नुभयो ।
वीरगञ्जका व्यवसायीले मंगलबार वीरगञ्जको आदर्शनगर, माईस्थान लगायत बजार क्षेत्रका पसलमा झण्डा र कालो पट्टी वितरण गर्ने, बुधबार नेपाल राष्ट्र बैंक अगाडि १ घण्टा धर्ना दिने र बिहीबार विशाल विरोध ¥याली निकालेर नगर परिक्रमा गर्ने आन्दोलनका कार्यक्रम तय गरेका छन्
वीरगञ्ज उद्योग वाणिज्य संघले हिजो पत्रकार सम्मेलन गरेर सडक आन्दोलन गर्ने घोषणा गरेको थियो । पत्रकार सम्मेलनको भिडियो