Logo

२८ भदौ, वीरगञ्ज । वीरगञ्जको सुख्खा बन्दरगाह नजिकै ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिको वडा नम्बर–१७ अलौंस्थित एकिकृत भन्सार जाँच चौकीको एरियामा ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ नम्बरको मोटरसाइकललाई बिहीबार अपरान्ह ३.३० बजेतिर ठक्कर दिँदा मोटरसाइकल चालक वीरगञ्ज–१७ अलौंका २२ वर्षिय टिनु कुमार साह तुराहाको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका तुराहाको वीरगञ्जको गण्कस्थित बयोधा मेडिसिटी हस्पिटलमा उपचारको क्रममा बिहीबार राति मृत्युु भएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

दुर्घटनालगत्तै गम्भीर घाइते साहलाई उपचारका लागि सुरुमा बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा लगिएको थियो । त्यसपछि बयोधा मेडिसटी हस्पिटलमा भर्ना गरिएका साहको उपचारका क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए । उनका अनुसार, ठक्कर दिने ट्यांकर र त्यसका चालक प्रहरीको  नियन्त्रणमा  छ ।

यसैबिच ट्याङ्करका चालकले जानाजान मोटरसाइकलमा ठक्कर दिएको भन्दै आक्रोशीत स्थानीयबासीले अलौं चोकमा हिजो टायर बालेर सडकमा  प्रदर्शन गरेका गरेका थिए । प्रदर्शन रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको थियो ।


सम्बन्धित समाचार