वीरगन्ज, १२ पुष । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले पर्सामा शिक्षाको अवस्था निकै दयनीय रहेको बताएका छन ।
प्रेस सेण्टर नेपाल पर्साले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य अन्सारीले पर्सामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र पूर्वाधार संरचनाको अवस्था कमजोर रहेको बताए । (भिडियो हेर्नुहोस)
उनले संघीयता पछि पनि शिक्षामा कुनै सुधार हुन नसकेको बताउदै आफू निर्वाचित भएपछि शिक्षामा सुधारको लागि विद्यालय, अभिभावक र विद्यार्थीहरुसँग भेटघाट र छलफल गर्न थालेपछि बल्ल स्थानीय तहले पनि अनुगमन गर्न थालेको जिकिर गरे ।
उनले सकारात्मक कामहरु जोसुकै बाट भएपनि सकारात्मक नै परिणाम दिने भन्दै सबैले आ–आफ्नो तहबाट पहल गरे मात्रै समग्र विकास सम्भव रहेको बताए । शिक्षाको विकास नभएसम्म समाज रुपान्तारण हुन नसक्ने र यसले समग्र विकासमा पनि अवरोध गर्ने भएकोले विकासका लागि शिक्षा अनिवार्य शर्त रहेको बताए ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक पहलकदमी लिन शुरु गरेको बताउदै पर्सा जिल्लाकै शिक्षाको विकासका लागि आफू निरन्तर सक्रिय रहने बताए ।
प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सेण्टरका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, केन्द्रीय सदस्य नीरज पिठाकोटे, नेकपा माओवादीका पूर्व जिल्ला इन्चार्ज तथा संयोजक बाबुराम कौशिक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन प्रेस सेण्टर नेपालका जिल्ला सचिव शिवनाथ यादवले गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य जगत राई, प्रदेश सचिव मूनेश लायो मगर, प्रदेश सदस्यहरु, जिल्ला पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा प्रदेश सभा सदस्य अंसारीलाई प्रेस सेन्टर नेपालले सम्मान गरेको थियो । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा लगायतका पदाधिकारीले अंसारीलाई सम्मान गरेका हुन ।






















