Logo

९ असोज, वीरगञ्ज । पर्सा, बारा लगायत तराई क्षेत्रमा आज जितिया पर्व मनाईदै छ ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्वको आज दोश्रो दिन ब्रत बस्ने महिलाहरुले विहानै उठेर दिवङ्गत पितृको सम्झना गर्दै दहि, चिउरा, मिठाई, फलफुल आदी चढाएर प्रसादको रुपमा ग्रहण गर्दछन् ।

त्यसपछि आज थुक समेत ननिलेर निराहार एवं निर्जला ब्रत बसिन्छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।

तीन दिनसम्म मनाउने सो पर्वमा मंगलबार (हिजो) पहिलो दिन ब्रतालु महिलाहरु पोखरी, सरोवर, कुण्ड लगायतका जलाशयमा स्नान गरेर चोखो हुन्छन् । त्यसपछि आफ्नो पित्रिको सम्झनामा घिरौलाको पातमा सर्सोको खाने तेल र पिना (खरी) चढाउँछन् र आ–आफ्ना धार्मिक संस्कार अनुसार भोजन गर्ने चलन छ ।

जितिया व्रत बस्नाले आपत विपत आइलाग्दा पनि सन्तानको जीवन सुरक्षित रहने धार्मिक विश्वास छ । यस व्रतमा व्रतालुले थुक पनि निल्नु नहुने र अति नियम निष्ठाका साथ मनाउनु परेकाले यसलाई कठोर व्रतको रूपमा लिने गरिन्छ । मैथिली पात्रो अनुसार हिजो नै जितिया पर्व मनाइएको छ ।


सम्बन्धित समाचार