Logo

फोटो—प्रमोद यादव

१४ पुस, पर्सागढी । पर्साको पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले विद्यालयमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गराउनुपर्ने बताउनुभएको छ । अध्ययन अध्यापनसँगै व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप जरुरी रहेको उहाँको भनाई छ ।

आफूले विद्यालय अध्ययन गर्दा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गरेको स्मरण गर्दै उहाँले त्यो बालबालिकाका लागि अत्यन्त लाभदायक भएको समेत बताउनुभयो । पालिकाको आर्थिक सहयोगमा वडा नम्बर ३ पकडिया बढ्नियारस्थित श्री आमोदेवी जनता क्याम्पसमा सभा सञ्चालन, उदघोषण तथा वक्तृत्वकला सम्बन्धी तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सहज सेवा सीप विकास केन्द्र प्रा.ली.ले ७ दिने तालिमको आयोजना गरेको छ । तालिममा पालिका अन्र्तगत सञ्चालित सामुदायिक क्याम्पस, सामुदायिक तथा संस्थागत विद्यालयका छात्रछात्रा सहभागी छन् । ७ दिनमा सबै कुरा सिक्न नसकेपनि आधारभूत ज्ञान लिएर स्थानीय स्तरमा आयोजना हुने कार्यक्रमको उदघोषण गर्न सक्ने बनेर देखाउन उहाँले आग्रह गर्नुभयो ।

उपमेयर पुजा चौधरीले तालिम बोल्ने कलासँगै व्यक्तित्व विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो । तालिममा सिकेका कुरा ब्यवहारमा उतार्न आवश्यक रहेको बताउँदै उहाँले युवालाई अगाडि बढाउन यस्ता तालिम महत्वपूर्ण हुने दावी गर्नुभयो ।

तालिममा चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष तथा रेडियो वीरगञ्जकी समाचार वाचिका एवं कार्यक्रम प्रस्तोता निलिमा पौडेलले लगायतले सहभागीलाई प्रशिक्षण दिनेछन् । पर्सागढी नगरपालिका कार्यपालिका सदस्य सीता लामाको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा स्थानीय समाजसेवी अशोक बुर्लाकोटी लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार