Logo

१४ असोज,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का अध्यक्ष उपेन्द्र सहनी, वडा सचिव (शाखा अधिकृत) उपेन्द्र साहू तेली र विजय मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार वडा अध्यक्ष सहनी र वडा सचिवले घर बाटो प्रमाणित गरिदिनका लागि सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस मागेका थिए ।

उक्त सूचनापछि आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। आयोगले वडा अध्यक्ष सहनी र वडा सचिव तेलीलाई भ्रष्टाचार ४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ ।

यस्तै मण्डललाई आयोगले मतियारको रूपमा प्रतिवादी बनाएको हो । उनलाई पनि आयोगले मुख्य कसुरदार सरह नै सजायको मागदाबी गरेको छ ।


सम्बन्धित समाचार