Logo

१५असोज,वीरगञ्ज । असोज पहिलो साता परेको अबिरल बर्षापछि आएको बाढी र डुबानमा परेर मधेसको कृषि क्षेत्रमा अर्बौंको क्षति पुगेको छ ।

देशभर ठूलो जनधनको क्षति हुने गरी परेको मुसलधारे बर्षापछि आएको बाढी र डुबानमा परेर मधेस प्रदेशको आठवटै जिल्लामा कृषि क्षेत्रमा अर्बौको क्षति पुर्‍याएको हो । मधेस प्रदेशको कृषि विकास निर्देशनालयको प्रारम्भिक क्षतिको विवरण अनुसार बर्षाले मधेस प्रदेशमा ५ अर्ब ३३ करोड ७५ लाख रुपैंयाको क्षति गरेको छ ।

कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार मधेस प्रदेशमा सबैभन्दा धेरै कृषि र मत्स्य क्षेत्र प्रभावित भएको छ । ४२ हजार ६९ हेक्टर क्षेत्रफलको धानबालीमा मात्रै ५ अर्ब ४ करोड ८३ लाख रुपैंया बराबरको क्षति भएको अनुमान गरिएको छ ।

त्यस्तै २३०० हेक्टर क्षेत्रफलको मत्स्यपालन प्रभावित हुँदा २३ करोडको क्षतिको अनुमान गरिएको छ । त्यसैगरी ८५ हेक्टर क्षेत्रफलको उखुमा ३ करोड ४० लाखको क्षति भएको छ । ४३९३ हेक्टर क्षेत्रफलको तरकारीमा क्षति पुग्दा किसानलाई १ करोड ३२ लाखको नोक्सानी भएको छ ।

फलफूलमा ४४ हेक्टर क्षेत्रफल प्रभावित हुँदा ४४ लाखको क्षति भएको छ । १४ हजार २ सय ५ वटा पशुपंक्षी नोक्सान हुँदा ७७ लाखको क्षति भएको अनुमान गरिएको निर्देशनालयका प्रमुख यादवले बताए ।

मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार मधेसको आठ जिल्ला मध्य सबैभन्दा धेरै रौतहटमा धानबालीमा क्षति भएको छ । रौतहटमा १० हजार २४३ हेक्टर क्षेत्रफलको धानबाली प्रभावित हुँदा १ अर्ब २२ करोड ९१ लाख ५० हजारको क्षति भएको छ ।

त्यसपछि सप्तरीमा ९ हजार ३ सय ६७ हेक्टर क्षेत्रफलको धानबाली नोक्सान हुँदा १ अर्ब २२ करोड ४० लाख ४० हजारको क्षति भएको छ । बारामा ६ हजार ४ सय ७२ हेक्टर क्षेत्रफलको धानबालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ ।

त्यस्तै सर्लाहीमा पनि धानबालीमा धेरै क्षति गरेको छ । कृषि विकास निर्देशनालयका अनुसार सर्लाहीमा ६ हजार ५ सय ८४ हेक्टर क्षेत्रफलमा ६९ करोडको क्षति भएको छ । मधेस प्रदेशको धनुषामा ७०० हेक्टरमा क्षति पुर्‍याएको छ ।

सिराहामा कम क्षति गरेको छ । सिराहामा १५८.६ हेक्टर क्षेत्रफलमा मात्रै धानबालीमा क्षति पुगेको छ । पशुपंक्षीमा सबैभन्दा बढी सर्लाहीमा धेरै क्षति पु¥याएको छ । १४ हजार २ सय ५ वटा पशुपंक्षीमा क्षति पुगेको मध्य सर्लाहीको मात्रै १० हजार वटा पशुपंक्षीमा क्षति पुगेको छ ।


सम्बन्धित समाचार