२१ कात्तिक,वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा सम्झौता गर्न नसकिने बताएका छन्।
पर्साको जगतपुरमा श्री टैरीमाई क्लबद्वारा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन्।
‘शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गुणस्तरीयता कायम गर्दै क्षमता बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने। ‘नयाँ संस्था खोल्ने भन्दा भएका शिक्षाका संस्थाहरुको क्षमता वृद्धि गर्नुकम खर्चिलो र राम्रो हो,’ उनले भने।
शिक्षाले वर्तमान समयको आवश्यकता पुरा गर्न सक्नुपर्ने उनको धारणा थियो। नेपालमा उत्पादन भएका जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने उनको धारणा थियो।
श्री टैरीमाई क्लबले छोटो समयमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको उनले बताएका छन् ।विगतको ८ वर्ष देखि शिक्षा क्षेत्रमा काम गर्दै आएको उक्त क्लबले थुप्रै काम गरेको उनले बताए । बालबालिकालाई मात्र विद्यालयमा गई शिक्षकसंग ज्ञान लिनुले शिक्षा पूरा हुँदैन उनीहरूलाई अभिभावकले पनि घर घरमा शिक्षा दिनुपर्ने आवश्कता रहेको उल्लेख गरे ।
यद्यपि उक्त उपलब्धिमा मात्रै सीमित हुनुभन्दा उपलब्ध साधन स्रोतबाट अधिकतम उपलब्धी हासिल गर्नुपर्नेमा उनको जोड थियो। ‘देश दिन दिनै गरिब हुँदै गएको छ, थोरै लगानीमा पनि धेरै उपलब्धी हांसिल गर्नुपर्ने अवस्था छ’, ‘कार्यक्षमता विकास नै अहिलेको आवश्यकता हो,’ उनले भने।
उक्त कार्यक्रममा पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन चौहान , उपप्रमुख रुबी ठाकुर,पूर्व नगरप्रमुख मन्टु रौनियार लगायतको उपस्थिति रहेको थिए।