२२ कार्तिक, वीरगञ्ज । तराई मधेसमा अत्यन्तै आस्था र भक्ति पूर्वक मनाईने लोकआस्थाको पर्व छठमा वीरगञ्जका कपडा पसलहरुमा ग्राहकहरुको भीड देखिएपनि विगतमा जस्तो व्यापार भने नभएको व्यापारीहरुले बताएका छन् ।
दैनिक उपभोग्य वस्तुहरुको किनमेलका लागि सीमापरी रक्सौल पुग्ने गर्दा वीरगञ्जका पसलहरु सुनसान देखिएका थिए । जुत्ता चप्पल र कपडाका पसलहरुमा दशैंमा भन्दा भाइटिका र छठमा केही भीड देखिएको छ । तरपनि खासै व्यापार भने नभएको वीरगञ्ज सिटी मार्केटका संचालक पिन्टु रौनियारले बताए । जुत्ता चप्पल र कपडा खरिद गर्न आउनेहरुको नेपाली सेनाको ब्यारेकदेखि उत्तरतर्फ रहेको वीरगञ्ज सिटी बजारमा सबैभन्दा बढी भीड देखिएको छ ।
सिटी बजारमा सस्तोमा कपडाहरु पाउने भएपछि ग्राहकहरु सिटी बजार र ब्यारेक रोडमा रहेको हङकङ बजारमा आउने गरेको रौनियारले बताए । चारदिनदेखि वीरगन्ज सिटी बजार र ब्यारेक रोडमा रहेको हङकङ बजारमा कपडा खरिद गर्नेहरुको भीड रहेको छ । सिटी बजारमा चारदिनदेखि निरन्तर भीड देखिएपनि गतबर्षको भन्दा ३५ प्रतिशत कम व्यापार भएको वीरगन्ज सिटी बजारका सञ्चालक रौनियारको भनाई छ । सिटी बजार र हङकङ बजारमा भीड देखिएपनि मुख्य बजारका सटर पसलहरुमा भने खासै ग्राहक देखिएको छैन ।
मुख्य बजारमा महंगोमा सटर भाडामा लिएर राखिएका पसलहरुमा सामान खरिद गर्दा महंगो पर्ने भएकोले सस्तो बजारमा ग्राहकको भीड बढेको रौनियारले बताए । दशैं र तिहारमा खासै व्यापार नभएको वीरगञ्ज सिटी बजारमा दिपावली र छठमा भने केही राहत भएको संदीपराज इन्टरप्राईजेजका संचालक संदीपराजले बताए । बर्षभरी व्यापार चौपट भएको अवस्थामा छठपर्वमा थोरै व्यापार भएपनि पहिलेको जस्तो भने व्यापार नभएको वीरगञ्ज सिटी बजारकै किरण फेन्सी स्टोरका संचालकको भनाई छ ।
दशैं र तिहारमा खासै भीड नभएको वीरगन्ज बजारमा छठ पर्वमा भने भीड देखिएको छ । छठपूजाका लागि चाहिने कृषि उपज उखु, अदुवा, सखरखण्ड, सुथली, ढकनी, नाङलो, दउरी लगायतका सामग्री किनमेल गर्नेहरुको घण्टाघर वरीपरि भीड देखिएको छ । वीरगञ्जको माईस्थानदेखि घण्टाघरसम्मको बजारमा छठपूजाको सामग्री किनमेल गर्ने र जुत्ताचप्पल कपडा किन्नेहरुको भीड देखिएको हो । माईस्थानदेखि आदर्शनगरसम्मको मुख्य बजारका पसलहरुमा भने फाटफुट मात्रै ग्राहकहरु पुग्ने गरेको पसलेहरुले बताएका छन् ।