Logo

२६ पुस, वीरगञ्ज । वीरगञ्जका होटल व्यवसायीले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । कोरोना महामारीका कारण थलिएको होटल व्यवसायलाई पुनरुत्थानका लागि राति १२ बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने माग उनीहरुको छ ।

सरकारले संघीय राजधानी काठमाडौं लगायत देशका महानगरपालिका तथा महत्वपूर्ण पर्यटकीय स्थलहरुमा कार्यविधिका आधारमा होटल तथा पर्यटन व्यवसायहरु २४ सै घण्टा खोल्न अनुमति दिएको छ । पर्सामा कम्तिमा रातको १२ बजेसम्म मात्रै भएपनि होटल तथा रेष्टुरेन्टहरु उचित कार्यविधि बनाएर सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्ने उनीहरुको धारणा छ ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त नेतृत्वको टोलीले सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० उमेशकुमार ढकाललाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष पन्तले होटल तथा रेष्टुरेन्ट १० बजे नै बन्द गर्नुपर्दा आफूहरु मर्कामा परेको बताए ।

‘वीरगञ्जका पसल व्यवसाय ९ बजेसम्म खुल्छन्, त्यसपछि बल्ल व्यवसायीहरु परिवारसँग खाना खान वा रमाइलो गर्न निस्कन पाउँछन्,’ उनले भने, ‘होटल तथा रेष्टुरेन्ट राति १० बजे नै बन्द गर्नुपर्ने हुन्छ । त्यसको आधा घण्टा अगाडि नै वेटरले अर्डर लिन बन्द गरिसकेका हुन्छन् । यसले गर्दा उनीहरु आएपनि होटल तथा रेष्टुरेन्टमा खान र रमाइलो गर्न पाउँदैनन् ।’

सुरक्षा वा अन्य जोखिमलाई मध्यनजर गरेर आवश्यक मापदण्ड बनाई होटल तथा रेष्टुरेन्ट राति १२ बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने माग उनको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ ढकालले होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि कार्यविधि बनाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपसमिति गठन भइसकेको बताए । उपसमितिले सरोकारवालासँग आवश्यक परामर्श गरी प्रतिवेदन बुझाउने र सुरक्षा समितिको बैठक बसेर उचित निर्णय लिने उनको भनाइ छ ।

उपसमितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सीनाले होटल तथा रेष्टुरेन्ट व्यवसायीसँग मंगलबार दिउँसो छलफल गर्ने जानकारी दिए । पर्साका प्रहरी उपरीक्षक कोमल साहले राति १२ बजेसम्म होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न सकिने बताए । तर त्यसका लागि होटल तथा रेष्टुरेन्ट व्यवसायीले तोकिएको मापदण्ड भने पालना गर्नुपर्ने उनको भनाइ छ ।

‘राति १२ बजेसम्म चलाउँछन भने चलाऊन्, हामीलाई कुनै समस्या छैन,’ उनले भने, ‘ तर सीसी क्यामेरा जडान गर्ने, पाहुनाको पहिचान खुल्ने कागजपत्र राख्ने लगायत सुरक्षा मापदण्ड पालना गर्नुपर्छ, अनि अरुलाई डिष्ट्रब गर्नु भएन ।’

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जमा आवद्ध ३८ सहित वीरगञ्जमा आवासीय होटल तथा ए लेभलका रेष्टुरेन्ट ८ वटाको हाराहारीमा छ ।


सम्बन्धित समाचार