Logo

२१ मंसिर,जनकपुर । जनकपुरधाम उपमहानगरले विवाह पञ्चमीमा अयोध्याबाट आएका जन्तीलगायत अतिथिलाई सम्मान गरेको छ।

उमहानगरले शुक्रवार गरेको समारोहमा भारतको अयोध्याबाट जन्तीका रूपमा आएका अतिथिहरू अयोध्याका मेयर गिरीशपति त्रिपाठी, राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, विश्वहिन्दु परिषद्का अन्ताराष्ट्रिय महामन्त्री राजेन्द्र पंकजलगायतलाई जनकपुरधामका मेयर मनोजकुमार साहले सम्मान गरेका हुन्।

त्यस्तै भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धरलगायतलाई पनि सम्मान गरिएको थियो। समारोहमा अयोध्याका मेयर त्रिपाठीले राम भगवान्को जन्ती बनेर आउने सौभाग्य पाएकोमा आफू हर्षित भएको बताए।

त्यस्तै ट्रष्टका महासचिव रायले आफ्नो परम्परालाई बचाएर राख्नुपर्ने बताए। समारोहमा जनकपुरधामका नगर प्रमुख साहले त्रेतायुगको परम्परालाई बचाएर राख्न पाउँदा आफूहरू धन्य महसुस गरेको बताए।

समारोहमा सहभागी अयोध्याबाट आएका जन्तीहरूले मिथिलावासीले जनकपुरधाममा देखाएको प्रेम र स्नेहबाट आफूहरू आनन्दित महसुस गरेको बताएका छन्। त्यसक्रममा अतिथिहरूका साथै अन्य साधु सन्तलगायतलाई उपमहानगरले भोजनसमेत गराएको थियो।

 


सम्बन्धित समाचार