![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/12/466004981_531705339871701_1532739604184454686_n.jpg?fit=1600%2C1106&ssl=1)
२४ मंसिर, ठोरी । ठोरी गाउँपालिका वडा नम्बर–३, ब्रम्हानगरमा खेतको बिचमा कष्टसंग बस्दै आइरहनुभएकी एक वृद्धाको लागि सहयोग संकलन गरेर घर निर्माण गरिएको छ । सामाजिक अभियन्ता ऋषी श्रेष्ठको पहलमा संकलन भएको रु ४ लाख ५६ हजारको लागतमा बनेको घर असहाय मैतिमाया श्रेष्ठलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको हो ।
मैतीमाया लामो समयदेखि जङ्गल नजिकको खेतको बिचमा बस्दै आउनुभएको थियो । बाटो , विजुली , खानेपानी सबैको अभावमा कष्टप्रद जीवन बिताइरहेकी मैतीमाया श्रेष्ठलाई सुरक्षित स्थानमा घर निर्माण गर्न सहयोगदाताहरूबाट सहयोग संकलन सुरु गरिएको थियो । आर्थिक सहयोगबाट ढुङ्गे बजारमा निर्माण गरिएको सो घरमा दुई कोठा, एक शौचालय र पुरानो घर सारेर भान्सा कोठा समेत बनाइएको छ ।
यसका लागि कुल खर्च रु. ४ लाख ५६ हजार भएको र अझै कोषमा रु. १ लाख ८० हजार बचत रहेको अभियन्ता ऋषि श्रेष्ठले जानकारी दिए । बचत भएको रकम अन्य असहाय व्यक्तिहरूको घर निर्माणमा खर्च गरिने योजना समेत रहेको अभियन्ता श्रेष्ठको भनाइ छ । सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच असहाय श्रेष्ठलाई ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले घर हस्तान्तरण गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष श्रेष्ठ, पूर्व वडाधक्ष सूर्य लामा एवम् सामाजिक अभियन्ता सन्तोष श्रेष्ठ, वडाध्यक्षहरू मानबहादुर थिङ, शम्भु खड्का, अमृतकृष्ण सापकोटा, नेकपा एमालेका नेता ठाकुरप्रसाद न्यौपानेले लगायतले घर हस्तान्तरण कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।