५ पुष,सेढवा । पर्साको ग्रामीण भेगका किसानहरु गहुबालीको सिचाई गर्न शुरु गरेका छन् । गण्डक नहरभन्दा उत्तरतर्फ रहेका जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकाका किसानहरुले गहुँबालीको सिँचाई गर्न शुरु गरेका हुन् ।
किसानहरुले बाँध पैनीको पानी तथा भूमिगत सिँचाई अन्तर्गत दमकल र वाटर पम्पको प्रयोग गरी सिचाई गरिरहेका छन् । गहुँको बिउ छरेको २१ दिनदेखि पच्चिस दिनमा सिँचाई गर्ने गरिन्छ । सिँचाई गरेको १०÷१५ दिन पछि पुनः गहुँबालीमा यूरिया मल छर्ने गरिन्छ । यूरिया संगै जिंक, सल्फर र जाइम मिलाएर बालीमा छर्ने गरिन्छ ।
एकतिर किसानहरुले बालीको सिँचाईमा लागेपनि रासायनिक मल यूरिया नपाएको कारणले चिन्तामा परेका छन् । कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडले स्थानीय कृषि सहकारी संस्थालाई आवश्यकता अनुसार मल उपलब्ध नगराउँदा किसानहरुले भारतीय बजारहरुमा भौतारिन बाध्य छन् ।
किसानहरुले यूरिया मलका लागि भारतीय बजार भंगहा, इनरवा, मैनाटांड, सिकटा तथा भेलाहीबाट मल खरिद गर्नु परेका किसानहरुलाई गुनासो गरेका छन् । सखुवाप्रसौनी गाउँपालिका वडा नं.–१ का वडाध्यक्ष ब्रिजकिशोर पन्जियारका अनुसार किसानहरुले समयमा मल नपाउदा भारतीय बजारबाट आपुर्ती भइरहेको बताउनुभयो ।
स्थानीय सहकारी संस्थामा थोरै अपुग रहेकाले भारतबाट मल ल्याउने ब्यापारीहरुबाट मल खरिद गर्नु परेको वडाध्यक्ष पन्जियारको भनाई छ । रासायनिक मल तथा उन्नत जातका बीऊबिजनका लागि किसानहरुले सधै सस्ती भोग्दै आएका र उत्पादन भएपछि बालीको भाऊ सधै कम हुने गरेको वडाध्यक्ष पन्जियारले बताउनुभयो ।
उता पर्सागढी नगरपालिकामा भने वडाका जनप्रतिनिधिहरुले आफ्ना राजनीतिक दलका समर्थन भएका किसानलाई मल दिलाउने गरेको किसानहरुले गुनासो गरेका छन् । नगरपालिकाले यूरिया मलको मूल्य ९ सय रुपैया तोके पनि प्रतिनिधिहरुले १२ सय रुपैया लिने गरेको गुनासो रहेको छ ।
जिराभवानी गाँउपालिका वडा नं.– २ सेढवामा रहेको मारुती नन्दन कृषि सहकारी संस्थाका अध्यक्ष सत्यनारायण साहले किसानलाई मल बितरणका लागि गत मंसिर ४ गते मल आएको जानकारी दिनुभयो । त्यसपछि हालसम्म मल नपाएकाले बितरण नभएको साहको भनाई छ ।
कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडले बफर कोटा भन्दै नजिकका कृषि सहकारी संस्थालाई पाँच सय बोरा मल उपलब्ध गराएको साहले बताए । अफूले संस्थाको पत्र लिएर मल लिन जादा नदिएको अध्यक्ष साहको भनाई छ ।