Logo

८ पुष,काठमाडौं । गत शनिबार भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलपछि जनकपुर बोल्ट्सका समर्थकमाथि अभद्र व्यवहार र आक्रमण गरेको आरोपमा दुईजना युवक पक्राउ परेका छन् ।

कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट ग्राउण्डमा भएको जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीचको फाइनल खेलपछि दुर्व्यवहार र आक्रमणमा संलग्न ती युवकलाई जिल्ला प्रहरी परिसरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका–२ घर भई हाल कीर्तिपुर नगरपालिका–८ पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटीकै दिपायल सिलगढी नगरपालिका–१ घर भई कीर्तिपुर नगरपालिका–७ भाजङ्गल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन् ।

उनीहरू दुवैजना फाइनल भिडन्तमा पराजित सुदूरपश्चिम रोयल्सका फ्यान रहेको खुलेको छ । जनकपुरले सुदूरपश्चिमलाई हराउँदै एनपीएलको पहिलो सिजनको उपाधि चुमेको थियो ।

उनीहरूले फाइनल खेलपछि अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने र विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको जाहेरी परेको थियो ।

त्यसैगरि विभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत् संकलित जानकारी र पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा घट्नामा दुवै युवकलाई आइतबार राति ७ बजे पक्राउ गरी प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ ।

यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


सम्बन्धित समाचार