२६ पुष,रौतहट । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जंगली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटका चन्द्रपुर, गुजरा, वृन्दावन र फतुवा विजयपुर नगरपालिकाका विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् ।
जंगली हात्ती विगत वर्षमा केही दिन आएर बसेर जाने गरेका थिए । यो वर्ष भने असारदेखि नै यस क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन् ।
हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेका छन् । हात्तीले बढीजसो केराबारी नष्ट गरेको पाइएको छ ।
हात्तीको बथानले रौतहटको चन्द्रपुर–३, गैँडाटार र जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पु¥याएको छ । हात्तीले पटक–पटक गरेर करिब एक बिघामा लगाइएको केराखेती नष्ट गरेको गैँडाटारका किसान लालबहादुर दोङले जानकारी दिए । फल्ने बेला भएको करिब ७०० केराको बोट नष्ट गरेको उनको गुनासो छ ।
दोङले चन्द्रपुर–२, जुडिबेलामा जमिन भाडामा लिएर केराखेती गर्दै आएका छन् । केराखेतीको बिमा नहँुदा समस्या भएको उनको भनाइ छ ।
जुडिबेलामा उनीसहित हर्क घिसिङ, चमेलीमायालगायत किसानको बिघौँबिघा जमिनमा लगाइएको केराबारी हात्तीले नष्ट गरेको छ ।
यस्तै, चन्द्रपुर–३, गैँडाटारमा पनि हात्तीले केराबारीमा विध्वंस मच्चाएको छ । उक्त गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको ४०० बोट, दीपक गौतमको ८५, सम्पूर्ण चौहानको २५० र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको स्थानीय दीपक गौतमले जानकारी दिए । उनका अनुसार, खडानन्द गौतमको पाँच कट्ठाको मकै, सोमप्रसाद गौतमको तीन कट्ठाको मकै र बाबु योञ्जनको चार कट्ठाको मकैखेतीमा हात्तीले क्षति पु¥याएको छ ।
हात्तीको बथानले चन्द्रपुर नगरपालिकामा आठ र फतुवा विजयपुर नगरपालिका–११ मा चार घर भत्काएको छ । हात्तीले चन्द्रपुर–३, गैँडाटारमा सात र वडा नम्बर–२, जुडिबेलामा एउटा घर भत्काएको स्थानीयले जानकारी दिएका छन् ।
गैँडाटारमा सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बली माया लोप्तन, बोम्जन साइँला, सुवास थोकर र साइँला गोलेको घर हात्तीले भत्काएको स्थानीय राजु धामीले जानकारी दिए ।
यस्तै, कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्मित उद्यान र पानीघट्टमा पनि हात्तीले क्षति पु¥याएको छ । फतुवा विजयपुर नगरपालिका–११, भैसही र बुटवा बस्तीमा हात्तीले चार घर भत्काएको छ । स्थानीय विजय चौधरीका अनुसार, उदय चौधरी, मिलन मगर, हरिशरण मैनालीलगायत स्थानीयको घरमा हात्तीले क्षति पु¥याएको हो ।
हात्ती नियन्त्रण गर्न डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले इनालाइजर (वन्यजन्तुलाई हल्का झट्का दिने उपकरण) प्रयोग गर्नुपर्ने बताए । हात्तीले उपद्रो मच्चाउन थालेपछि रोकथामका निम्ति उक्त उपकरण प्रयोग गर्नुपर्ने उनले उल्लेख गरे ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडासँग परार्मश गरेर उक्त इनालाइजर प्रयोग गर्नु नै हात्ती रोक्ने मुख्य उपाय भएको उनले बताए । इनालाइजर खरिद गर्न चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा सहयोगका निम्ति आफूले पत्राचार गरेको प्रमुख साहले जानकारी दिए ।
हात्तीले क्षति पु¥याएका व्यक्तिलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने भएको छ । हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्काएका, बालीमा क्षति भएको यकिन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको प्रमुख साहले बताए । रासस