Logo

५ माघ, वीरगञ्ज । जितपुरसिमरा उपमहानगरपालिकाले नगरस्तरको अस्पताल सञ्चालनको लागि जनशक्ति छनौट गरेको छ । जितपुर सिमरामा डाक्टर र बिशेषज्ञ चिकित्सक सहितको सेवा नभएपछि उपमहानगरपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालनको तयारी गरेको हो ।

औद्योगिक करिडोर र जनघनत्व बढी भएको क्षेत्र भएपनि जितपुर सिमरामा डाक्टर सहितको स्वास्थ्य सेवा नभएपछि उपमहानगरपालिकाले जनअपेक्षा अनुसार अस्पताल सञ्चालन गर्न लागेको मेयर राजन पौडेलले बताए । उनले यस क्षेत्रका जनता सामान्य स्वास्थ्य उपचारको लागि वीरगञ्ज र हेटौडा जानुपर्ने अवस्था अन्त्य गर्न उपमहानगरपालिकाको पहलमा अस्पताल शुरु गर्न लागिएको जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा उपलब्ध रहेका कोठाहरुबाटै केही दिन भित्रै नगर अस्पताल सञ्चालनका लागि अब तयारी भइरहेको प्रमुख पौडेलले बताए । अस्पतालको भवन निर्माणको काम सम्पन्न नभए सम्म स्वास्थ्य केन्द्रको भवनबाट सेव सञ्चालन गरिने मेयर पौडेलको भनाई छ । यस क्षेत्रमा अस्पताल नहुदा नागरिकले आधारभुत स्वास्थ्य सुबिधा सम्म पाउन बञ्चित हुने देखिएकोले नगर अस्पताल सञ्चालनका लागि आफुहरुको ध्यान केन्द्रित भएको उनले बताए ।

जितपुरसिमरा उपमहानगरपालिकाले अस्पताल सञ्चालन गर्न माघ १ गतेदेखिनै तलब खुवाउने गरी तीन मेडिकल अधिकृत, तीन स्टाप नर्स , एक फार्मेसी सहायक नियुक्त गरेको छ । संघीय सरकारको डाक्टरको दरबन्दी भएपनि पटक पटक माग गर्दा समेत सिमरा प्राथमिक स्वास्थ्य केन्द्रमा बिगत लामो समयदेखि डाक्टर बिहिन हुदै आएको छ ।

जनताको प्रत्यक्ष सरोकार जोडिएको स्वास्थ्य, कृषी र पशु सेवालाई सुदृढ गर्दै नागरिकमा सेवा प्रवाह बढाउने सोचका साथ तीनै क्षेत्रमा छनौट भएका प्राविधिक कर्मचारीलाई बुधवार नियुक्ति पत्र दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ खरेल, सुचना अधिकारी रामेश्वर बन्जारा, वडा नं १ का वडाअध्यक्ष हिरा बहादुर गुरुङ लगायतको उपस्थितीमा एक समारोहका बिच छनौट भएकाहरुलाई बधाई सहित नियुक्ती पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नव नियुक्त मेडिकल अधिकृतहरु प्रशान्त बर्णवाल, प्रतिक कुमार र सुजल अधिकारी, फार्मेसी सहायक अशोक कुमार साह , स्टाफ नर्सहरु सविना रेग्मी, तरानुम नेसा र राधिका सुब्बा, कृषी अधिकृत अनिस प्याकुरेल र पशु चिकित्सक सुवाश झाले नियुक्ती पत्र बुझदै नगरको निर्देशन बमोजिम आफनो जिम्मेबारीमा कमी हुन नदिने प्रतिबद्धता जनाएका थिए ।


सम्बन्धित समाचार