Logo

५ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन् । घिमिरेले १६७ मत प्राप्त गर्दा न्यौपानेले १०० मत प्राप्त गरेकी छन् ।

बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बहुमत प्राप्त गरेकाले घिमिरेलाई निर्वाचित भएको घोषणा गरे । आजको मतदान प्रक्रियामा कुल २६८ सांसद उपस्थिति भएकोमा एकजनाले पक्ष विपक्ष कतै मत दिएनन् ।

घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र रास्वपाका रवि लामिछाने थिए । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

घिमिरे नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा निर्वाचित भएका हुन् । यसअघि कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्नि सापकोटा सभामुख निर्वाचित भैसकेका छन् ।


सम्बन्धित समाचार