
८ फागुन, सेंढवा । पर्साको ग्रामीण भेगका किसानहरुले चैते धान बाली हर्दिनाथ–१ को बीऊ राख्न शुरु गरेका छन्। खास गरि जिल्लाको उतरी तथा पश्चिमी भेगमा पर्ने ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिका तथा बीरगंज महानगरपालिकाका उतरी वडाका किसानहरुले चैते धान बालीको बीऊ राख्न शुरु गरेका हुन्।
किसानहरुले आवश्यक ब्याडका लागि सिँचाई गर्ने, झारपातको गोडमेल गर्ने तथा बीऊ छर्ने कार्य शुरु गरेका छन्। बिगत ४÷५ बर्षदेखि किसानहरुले लगाउदै आएको हर्दिनाथ–१ धान राम्रो उत्पादन हुने भएको कारण अन्य किसानहरुले पनि हर्दिनाथ–१ धान बाली लगाउन शुरुवात गर्न थालेका छन्। जिराभवानी गाँउपालिका वडा नं.–१ शान्तिनगरका किसान सोमनाथ सापकोटाका अनुसार उनले डेढ बिघा चैते धान बाली रोपाईका लागि ब्याडमा बीऊ राखेका छन् ।
यो बाली लगाउदा एउटै जमिनबाट किसानहरुले दुईबाली धान र अर्को तोरी, सुर्ती या राजमाको खेती गरी तीन बाली उत्पादन गर्न सकिने किसान सापकोटाका भनाई छ । किसानहरुले खेतीबाटै आफ्ना खाद्यान्न, लताकपडा, शिक्षा, औषधी उपचार तथा अन्य खर्च धाउनु परेको हुँदा बिभिन्न खेतीबालीको उत्पादनतिर उन्मुख हुनु परेको किसान सापकोटाले बताए।
त्यस्तै ठोरी गाउँपालिका वडा नं.– ५ गडुवालाईनका किसान देवीप्रसाद दहालले अहिले खेतमा सिँचाईका लागि भूमिगत सिँचाई अन्तर्गत बोरिंगबाट दमकल तथा वाटर पम्पबाट सहज हुने हुँदा किसानहरुले बिभिन्न बाली उत्पादन गर्न अग्रसर भएको बताए। तोरी उखेलेका, सुर्ती बाली भित्रियाउदै गरेका जमिनहरु एक महिना भित्र खाली हुने हुँदा सोको सदुपयोग गर्दै चैते धानबालीका लागि बीऊ राख्न शुरु गरेको दहालको भनाई छ ।
यता सखुवाप्रसौनी गाउँपालिका वडा नं.–१ का सुरेन्द्र महतो थारूले आफ्नो क्षेत्रमा रहेका खेतीयोग्य जमिनको ३० प्रतिशत भन्दा बढी चैते धानबालीको खेती हुने गरेको बताए। यो धानको चामलको भात खानाका लागि स्वादिलो तथा उत्पादन पनि राम्रो हुने हुदा यो बाली प्रति किसानहरुको आकर्षण बढेका थारुले बताए। चैते धानबालीको उन्नत जातका बीऊ पालिका तथा कृषि सम्बन्धि बिभिन्न कार्यालयहरुले पनि ५० प्रतिशत आनुदानमा पनि किसानहरुलाई बीऊ उपलब्ध गराउने गरेका छन्।
पटेर्वासुगौली गाउँपालिकाका कृषि शाखाका ना.प्रा. स. मोहन दास थारुका अनुसार अहिलेसम्म ५० प्रतिशत आनुदानमा २ सय पचास बोरा (३५ केजीको बोरा) बितरण भइसकेको बताए। अझै दुई सय बोराको माग रहेको थारुको भनाई छ । उता ठोरी गाउँपालिकामा रहेका कृषि सहकारी संस्थाहरुले किसानलाई आधा मूल्यमा बीऊ बितरण गरिरहेको बताईएको छ।
यी संस्थाहरुले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बारा पर्साको कार्यालय कलैयाबाट हर्दिनाथ– १ को बीऊ ल्याई किसानहरुलाई बितरण भइरहेको ठोरी गापाका प्रमुख चन्दन भैया थारुले बताए। यता जगरनाथपुर र सखुवाप्रसौनी गाँउपालिकामा चैते धानबालीको बीऊ मागका लागि फारम भर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ।
यो बालीको बीऊ फागुन महिनाको पहिलो सातादेखि बीऊ राख्ने तथा चैत्र महिनाको पहिलो सातादेखि रोपाई शुरु गर्ने गरिन्छ। ९० दिनमा पाक्ने यो बाली जेठ महिनाको अन्तिम सातासम्म भित्र्याउन सकिने किसानहरुले बताएका छन्। सोही खेतमा पुनः यही धानबालीको रोपाई गर्न सकिने किसानहरुले जनाएका छन्।
गत बर्षसम्म यो बाली पाच मनदेखि आठ मन (२ क्वीन्टल देखि साढे तीन क्वीन्टल) प्रति कठ्ठाको दरमा उत्पादन हुने गरेको छ । अहिले यो बाली भारत बिहारको पश्चिमी चम्पारण जिल्लाको केही स्थानमा समेत खेती हुन थालेका छन्।